
– आकाश देवकोटा
बाँके ,१६ असार । बाँकेका आठ वटै स्थानिय तहको मतगणना जारी छ । यो समाचार तयार पार्दा सम्म जिल्लाका १३ ओटा वडाका मतपरिणाम सार्वजनिक भएको छ । जसमा काँग्रेसले ६ ओटा वडामा , नेकपा एमालेले ३ स्थानमा र संघिय समाजवादी फोरमले ४ ओटा वडामा विजयी गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा नेकपा एमाले विजयी भएको छ । एमालेका उम्मेदवार प्रमोद रिजालले आफ्ना निकटतम प्रतिद्धन्द्धी राप्रपाका वडाध्यक्ष उम्मेदवार बलराम सोनीलाइ पराजित गरेका छन् । रिजालले ८१८ र सोनीले ५१७ मत प्राप्त गरे ।
त्यस्तै वडा नम्बर २ मा नेपाली काँग्रेस विजयी भएको छ । वडाध्यक्ष सुनिल सिह हमालले ४६६ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका वडाध्यक्ष पदका उम्मेदवार मनोज श्रेष्ठले ३७४ मत प्राप्त गरेका छन् । २ नम्बर वडामा महिला सदस्य बाहेक काँग्रेसको पुरै प्यानलले जितेको छ ।
त्यस्तै वडा नम्बर २३ मा संघिय समाजवादी फोरमले जित हात पारेको छ ।
अहिले उपमहानगरपालिकामा राप्रपाले अग्रता लिइरहेको छ भने नेपाली काँग्रेसले पच्छाइरहेको छ ।
यता, कोहलपुरमा वडा नम्बर १ को मत परिणाम सार्वजनिक भएको छ । नेकपा एमालेका वडाध्यक्ष उम्मेदवार गोपी खनालले जितेका छन् । उनले प्रतिद्धन्द्धी नेकपा माओवादीका अमर चन्दलाइ पराजित गरेका हुन।
कोहलपुर नगरपालिकामा वडा नम्बर १ र १५ को ११ सय मत गणना हुँदा नेपाली कांग्रेसका भानुभक्त भट्टराईले ९४३ मत, एमालेका लुट बहादुर रावतले ९४१ माओबादी केन्द्रका नरेन्द्र न्यौपानेले ८७२ मत प्राप्त गरेका छन् ।
बाँकेको डुडुवा गाउँपालिकामा काँग्रेसले अग्रता लिएको छ । डुडुवा गाउँपालिकामाका निर्वाचन अधिकृत लोक बहादुर हमालका अनुसार काँग्रेसले वडा नम्बर १ मा जितेको छ भने वडा नम्बर ६ मा फोरम लोकतान्त्रिकले विजय प्राप्त गरेको छ ।
नेपाली काँग्रेसले प्रमुखमा १८ सय ९९ र उपप्रमुखमा १७ सय ६५ ,संघिय समाजवादी फोरमले प्रमुख पदमा १५ सय ४०, उपप्रमुखमा १४ सय ११, लोकतान्त्रिक फोरमले प्रमुख पदमा ६ सय ७७, उपप्रमुखमा ७ सय ६० ल्याएको छ ।
नेकपा एमालेले प्रमुख पदमा ४ सय ९१, उपप्रमुखमा १४३ मत प्राप्त गरेको छ भने राप्रपाले प्रमुखमा ७ सय ९, उपप्रमुखमा ७ सय ५ मत प्राप्त गरेको छ ।
त्यस्तै खजुरा गाउँपालिकामा नेकपा एमालेले अग्रता लिएको छ । खजुरा वडा नम्बर १ को वडाध्यक्षमा सुमन मल्ल विजयी भएका छन् । एमालेले प्रमुखमा ३ सय ८८ मत, उपप्रमुखमा ३ सय ७७ मत प्राप्त गरेको छ ।
नेकपा माओवादी केन्द्रले प्रमुखमा १६०, उपप्रमुखमा १२४ ल्याएको छ । काँग्रेसले प्रमुखमा १२६, उपप्रमुखमा १८१ मत प्राप्त गरेको खजुरा गाउँपालिकामाका निर्वाचन अधिकृत भुवन गिरीले जानकारी दिए ।
बाँकेको विकट क्षेत्र राप्ती सोनारी गाउँपालिकामा काँग्रेसले अग्रता लिएको छ । अहिलेसम्मको मतपरिणाम अनुसार काँग्रेसले २ ओटा वडामा विजय हासिल गरेको छ । वडा नम्बर १ मा महिला सदस्यबाहेक वडाध्यक्ष चन्द्र बहादुर वलीसहित काँग्रेसको प्यानल विजयी भएको छ । वडा नम्बर ९ मा वडाध्यक्ष महाविर वलीसहित पुरै प्यानल विजयी भएकोे राप्ती सोनारी गाउँपालिकामाका निर्वाचन अधिकृत माधवप्रसाद शर्माले जानकारी दिए ।
त्यस्तै बैजनाथ गाउँपालिकामा पनि नेकपा एमालेले अग्रता लिएको छ । वडा नम्बर १ र ८ को मतगणनामा नेकपा एमालेले प्रमुखमा १२ सय मत, नेपाली काँग्रेसले ८१५ र नेकपा माओवादीले ३१४ मत प्राप्त गरेको छ ।
बाँकेको नरैनापुर गाउँपालिकामा ४ ओटा वडाको मतपरिणाम सार्वजनिक भएको छ । नरैनापुर गाउँपालिकामा वडा नम्बर १, २ र ४ वडामा संघिय समाजवादी फोरमले वडाध्यक्षमा विजय हासिल गरेको छ भने वडा नम्बर ३ मा काँग्रेसले विजय हासिल गरेको छ । नरैनापुरमा संघिय समाजवादी फोरमले अग्रता लिइरहेको छ । निर्वाचन अधिकृत गोर्खबहादुर थापाका अनुसार अहिलेसम्म संघिय समाजवादी फोरमले ३२ सय ४८, नेपाली काँग्रेसले १९ सय ३८, नेकपा एमालेले १३ सय ७१ र माओवादी केन्द्रले ४ सय ४९ मत प्रमुख पदमा प्राप्त गरेको छ ।
जानकी गाउँपालिकामा भने राप्रपाले अग्रता लिएको छ ।












प्रतिक्रिया