१५ कार्तिक २०८३, आइतबार

एमालेलाई पछ्याउँदै कांग्रेस, मध्य रातिसम्म कसले कति जिते ?

4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ असार । प्रदेश–१, ५ र ७ अन्तर्गत ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा बुधबार सम्पन्न दोस्रो चरण निर्वाचनको मतगणना जारी छ ।

बिहीबार अबेरसम्म प्राप्त गणनाअनुसार नेकपा एमालेले अग्रता लिएको छ भने कांग्रेसले एमालेलाई नजिकैबाट पछ्याइरहेको छ । राजधानी दैनिकले समाचार
छापेको छ ।

एमाले र कांग्रेसको तुलनामा गाउँ र नगरपालिका प्रमुखमा कम अग्रता भए पनि परिणाम घोषणा भएका स्थानीय तहका वडा अध्यक्ष र सदस्यमा नेकपा माओवादी केन्द्रले पनि दुई ठूला पार्टीलाई टक्कर दिइरहेको छ ।

सुरुवाती अग्रतामा निर्वाचनमा सहभागी फोरम लोकतान्त्रिक र नयाँ शक्ति संघीय समाजवादी फोरम गठबन्धले राप्रपालाई उछिनेको छ भने कतिपय स्थानमा स्वतन्त्र उम्मेदवार अगाडि देखिएका छन् ।

जिल्लास्थित राजधानी सहकर्मीहरूका अनुसार बिहीबार राति साढे १० बजेसम्मको घोषित विभिन्न गाउँपालिका र नगरपालिकाका ७० वडाको मतपरिणामअनुसार एमाले अग्रस्थानमा देखिएको छ ।

एमालेले विभिन्न गाउँ र नगरपालिकाका ३१ वटा वडामा विजय हासिल गर्दा कांग्रेसले २० वटा वडामा विजय हासिल गरेको छ । त्यसैगरी माओवादी केन्द्रले १६ वटा वडा जितेको छ भने राप्रपा, संघीय समाजवादी फोरम–नयाँ शक्ति गठबन्धन र स्वतन्त्रले एकएक वडामा जित हात पारेका छन् ।

नगरपालिका र गाउँपालिका प्रमुखको अन्तिम नजिता भने राति १० बजेसम्म सार्वजनिक भएको छैन । ठूला राजनीतिक दलबीच अग्रताको होडबाजीका कारण प्रारम्भिक नजितामा अग्रता लिने क्रम पनि छिनछिनमा परिवर्तन भइरहेको जिल्लास्थित सहकर्मीहरूले बताएका छन् । गणना भएका कतिपय स्थानीय तहमा शुक्रबार बिहानसम्ममा अन्तिम परिणाम आइसक्ने जिल्लास्थित सहकर्मीले जनाएका छन् ।

निर्वाचन आयोगका अनुसार बिहीबार साँझसम्म २५ तहबाहेक ३ सय ७ तहको गणना सुरु भएको हो । जारी मतगणनाअनुसार प्रमुख दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, संघीय समाजवादी र लोकतान्त्रिक फोरमले विभिन्न स्थानमा अग्रता लिएका छन् । निर्वाचनमा ७३ दशमलव ६९ प्रतिशत मत खसेको आयोगले बताएको छ ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले मटपेटिका सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सहमति भएका ३ सय ७ तहमा मतगणना सुरु भएको बताए । ‘सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका पुगेर राजनीतिक दलहरूका बीचमा सहमति भएको ३ सय ७ तहमा मतगणना सुरु भएको आयोगको जानकारीमा आएको छ,’ प्रवक्ता शर्माले राजधानीसँग भने ।