
काठमाडौं, १५ असार । सुदूरपश्चिम अर्थात प्रदेश नम्बर ७ मा काँग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा देखिएको छ ।
८८ स्थानीय तहमध्ये अधिकांशमा काँग्रेस र एमालेबीच नै प्रतिस्पर्धा देखिएको छ । अहिलेसम्म काँग्रेस र एमाले १२/१२ वटा स्थानीय तहमा अगाडि देखिएका छन् । यसैगरी, माओवादी २, फोरम लोकतान्त्रिक १ र राप्रपा १ ठाउँमा अगाडि देखिएका छन् ।
धनगढी उपमहानगरमा बागी उम्मेदवारले अग्रता लिएका छन् भने डडेल्धुराको अजयमेरु गाउँपालिकामा काँग्रेसको आधिकारिकले भन्दा बागी उम्मेदवारले बढी मत पाएका छन् ।
कांग्रेसले अग्रता लिएका स्थानीय तहमा बाजुराका बडिमालिका नगरपालिका, बुढीनन्दा नगरपालिका र त्रिवेणी नगरपालिका रहेका छन् । यसैगरी, डोटीको दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका र केआइ सिंह गाउँपालिकामा काँग्रेस अगाडि छ । काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुराको गन्यापधुरा गाउँपालिकामा काँग्रेस अगाडि छ । वैतडीको मेलौली नगरपालिका र पुर्चौडी गाउँपालिकामा काँग्रेस अगाडि छ । यता, कञ्चनपुरको महाकाली नगरपालिका र पुनर्वास नगरपालिकामा पनि काँग्रेसले अग्रता लिइरहेको छ । कैलालीको जानकी गाउँपालिकामा पनि काँग्रेस अगाडि छ ।
नेकपा एमालेले बझाङको मस्टा गाउँपालिका, बित्थडचीड गाउँपालिका, काँडा गाउँपालिका र दुर्गास्थली गाउँपालिकामा अग्रता लिइरहेको छ ।
यसैगरी, बाजुराको छेडेदह, गैमुल र पाण्डपगुफा गाउँपालिकामा, बैतडीको पश्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिका, दार्चुलाको लेकम गाउँपालिका, कन्चनपुरको बेलडाडी नगरपालिका, डोटीको आदर्श गाउँपालिकामा एमालेले अग्रता लिएको छ ।
माओवादी केन्द्रले डडेलधुराको अजयमेरु गाउँपालिका र दार्चुलाको मार्मा गाउँपालिकामा मात्रै अग्रता लिइरहेको छ । यसैगरी, फोरम लोकतान्त्रिकले कैलालीको टिकापुर नगरपालिका र राप्रपाले दशरथ चन्द नगरपालिकामा अग्रता लिइरहेको छ ।
अछामबाहेक प्रदेश नम्बर ७ का सबै जिल्लामा मतगणना भइरहेको छ ।















प्रतिक्रिया