१ कार्तिक २०८३, आइतबार

राजपालाई मधेशी जनताले टेरेनन्, वरिष्ठ नेताहरुकै गाउँमा ७७ प्रतिशत मत खस्यो (स्थलगत रिपोर्ट)

5.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– नरेश केसी

मर्चवार (रुपन्देही), १४ असार । छ वटा मधेशबादी दल मिलेर बनेको राजपाको प्रभावक्षेत्र मर्चवारमा ७७ प्रतिशत मत खसेको छ । राजपाका वरिष्ठ नेता सवेन्द्रनाथ शुक्ला, ओमप्रकाश यादव गुलजारी लगायतको बसोबास रहेको मर्चवार क्षेत्रमै जनताहरुले स्वतः स्फूर्त रुपमा मतदान स्थलमा आई आफुलाई मन परेको नेता छान्ने अभियानमा सक्रिय सहभागी भएका हुन् ।

३ वटा गाउँपालिका रहेको मर्चवार क्षेत्रमा महिला मतादाताहरुको उत्साहजनक सहभागिता देखियो । मर्चवारीमाई गाउँपालिकामा १७ हजार ९ सय ८१ मतदाता रहेकोमा १३ हजार ८ सय मत खसेको निर्वाचन अधिकृत सन्जिब पोखरेलले जानकारी दिए ।

यसैगरी १८ हजार १ सय ६२ मतादाता रहेको समरीमाइ गाउँपालिकामा १३ हजार ९ सय ८७ मत खसेको उक्त गाउपालिकाका निर्वाचन अधिकृत कमलराज पन्थिले जानकारी दिए ।

सोही क्षेत्रको कोटइमाई गाउँपालिकामा पनि ७९ दशमलब ७१ प्रतिशत मत खसेको छ । सो गाउँपालिकाका निर्वाचन अधिकृत मनोज कुमार गैरेका अनुसार १३ हजार ३ सय ७१ मत खसेको हो । उक्त गाउपालिकामा १६ हजार ७ सय ४४ मतादाता रहेका थिए ।

सुरक्षा निकायले अति संवेदनशील क्षेत्रको रुपमा यकिन गरी सुरक्षा तैनाथी बढाएको मर्चवारमा अत्यन्तै व्यवस्थित ढंगले निर्वाचन सम्पन्न भएको ह्युमन राइट काउन्सिल अफ नेपालका अध्यक्ष तुलसी थापाले बताए ।

मानवअधिकार र पत्रकारको टोलीको नेतृत्व गर्दै दिनभर मर्चवार क्षेत्रका सबै बुथ तथा मतदान केन्द्रको अनुगमन गरेका थापाले दैनिक नेपालसँग भने– ‘निर्वाचनमा मतदाताको उत्साह देख्दा खुसी लाग्यो । सुरक्षा प्रबन्ध राम्रो थियो । मतदान स्वतन्त्र र निष्पक्ष ढंगले सम्पन्न भएको हाम्रो बुझाई छ । ’

ह्युमन राइट काउन्सिल अफ नेपालका उपाध्यक्ष सीपी श्रेष्ठले भने– ‘मर्चवार क्षेत्रमा निर्वाचनका क्रममा देखिएको मतादाताको उत्साह धेरै नै राम्रो छ । स्थानिय तहमा नेता छान्ने काममा उहांहरुको सक्रियताले निर्वाचन सफल बनाएको छ ।’

स्थलगत अनुगमनका क्रममा मर्चवारमा महिला मतादाताको संख्या उल्लेख्य देखिएको सो अनुगमन टोलीको सदस्य समेत रहेकी रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरको अध्यक्ष सावित्री गुरुङले बताइन् । मतदातामा मतदान गर्नेको उत्साह देखिएको भएतापनि मतदान शिक्षाको भने कमी देखिएको एडभोकेसी फोरम रुपन्देहीका संयोजक तथा पर्यवेक्षक शिवप्रसाद गौडेलले बताए ।

स्थलगत अध्ययनका क्रममा मर्चवार क्षेत्रमा कयौं मतादाताहरुले मतपत्र नपटाई काचककुचुक पारेर मतपेटिकामा राख्न खोजिरहेका देखिन्थे । कयौं मतादाताले मतपत्र उल्टोपुल्टो पारेर राखेको देखिन्थ्यो ।

मर्चवारमा २ कारणले मत कम खस्ने धेरैले आकंलन गरेका थिए । पहिलो राजपाको प्रभाव क्षेत्र भएकाले पार्टीको निर्देशन अनुसार मत हाल्न आउने छैनन । दोस्रो, खेती किसानीको समय उनीहरु त्यति चासो नदेलान भन्ने थियो । तर, ती दुबै अनुमानलाई चिर्दै मतदाताहरु स्वतःस्फूर्त रुपमा मतदान स्थलमा विहानैदेखि लागेको लाइनले नेपालका सबै जनताले मतदान चाहेको रहेछन् भन्ने कुरालाई सत्यसावित गरिदिएको छ ।

यता सिद्धार्थनगरपालिका भैरहवामा पनि उत्साहजनक मत खसेको छ ।