१ कार्तिक २०८३, आइतबार

नयाँ आईजीमा सुरु भयो चलखेल, खरेल र खनाललाई उछिनेर कार्की आईजी ?

40.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ असार । दश महिनापछि आईजी बन्न तीन एसएसपीको दौड सुरु भएको छ । त्यसका लागि एसएसपी रमेश खरेल, सर्वेन्द्र खनाल र पुस्कर कार्की यतिबेला आफू अनुकूल वातावरण सिर्जना गर्न लागिपरेका छन् ।

नेताको चाकडी नगरी आईजी नहुने प्रमाणित भएपछि उनीहरु अहिले माहोल आफ्नो पक्षमा पार्न लबिङमा जुटेका छन् । जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।

तीन एसएसपी अहिले प्रचण्ड र देउवा मनाउने प्रयासमा छन् । उता कार्यसम्पादन मूल्यांकन पनि बढुवाको लागि मुख्य विषय बनेपछि गृहमन्त्री र आईजीलाई खुशी पार्न पनि तीन एसएसपी लागिपरेका छन् । एसपीबाट एसएसपी बढुवा हुँदा एक नम्बरमा रमेश खरेल, दोस्रोमा सर्वेन्द्र खनाल, तेस्रोमा राजेन्द्रमान श्रेष्ठ थिए ।

पुस्कर कार्की भने उनीहरु बढुवा भएको दुई महिनापश्चात् सिंगल बढुवा भएका थिए । तर अहिले एसएसपी श्रेष्ठ बिरामी भएपछि उनी खरेल र खनालसँगै बढुवा हुने लाइनमा छन् । अपराध महाशाखामा हुँदा उल्लेखनीय काम गरेता पनि खनालले गरेको कामले कार्कीको काम ओझेलमा परेको थियो ।

सर्वसाधारणको नजरमा सेलिब्रेटीका रुपमा चिनिएका एसएसपीद्वय खरेल र खनालमध्ये एक आईजी हुने सम्भावना बढी छ । तर नेताको मनपरी तरिकाले आफू अनुकूल आईजी बनाउने परिपाटीका कारण कार्की पनि आईजी नहोलान् भन्न सकिन्न । दुई वर्षदेखि विदेशमा रहेका कार्कीलाई आईजी बनाउने योजना मुताबिक राष्ट्रपतिबाट पदकसमेत दिलाउने काम भएको उनकै व्याचीहरु बताउँछन् । बढुवामा पदकको समेत नम्बर जोडिने हुँदा इतिहासमै विदेशमा हुँदा कसैले नपाउने पदक पाएपछि उनको चर्चा बढी चुलिएको हो ।

उता कार्कीलाई नभए खरेललाई आईजी बनाउने तर खनाललाई कुनै पनि हालतमा आईजी बन्नबाट रोक्नु पर्छ भन्दै अर्याल एण्ड कम्पनी लागि परेको स्रोतको दाबी छ ।