हाई पोइन्ट । प्रवासमा नेपाली समुदाय बढेसंगै नेपालीको जन्मदेखि मृत्युसम्मका धार्मिक तथा सांस्कृतिक कार्यका लागि आ–आफ्नो बसोबास क्षेत्रमा आफ्नै सामुदायिक भवन र मन्दिर बनाउन जुटेका छन् ।
खास गरी अमेरिकामा धेरै नेपाली समुदाय रहेका स्थानहरूमा यसरी नेपाली समुदायले न्यूयोर्क, बोस्टन, क्यालिफोनिया, टेक्सासलागायत स्थानहरुमा सामुदायिक भवन बनाई सकेको सन्दर्भमा यतिखेर नर्थक्यारोलिनाको हाई पोइन्ट ग्रीन्सबोरोमा पनि सामुदायिक भवन बनाउन नेपाली समुदायका अगुवाहरु जुटेका छन् ।
लामो समयदेखि नेपाली समुदायको बसोबास बढ्दै जाँदा आफ्नै समुदायका लागि धार्मिक तथा सांस्कृति कार्य गर्ने र जमघट हुने उपयुक्त स्थानको अभाव महसुश भएकोले नर्थक्यारोलिनामा नेपाली सामुदायिक भवन बनाउन लागिएको टिएनसिसिका संस्थापक अध्यक्ष बसन्त खड्काले बताए ।
नर्थक्यारोलिनामा पछिल्लो समय नेपालीहरूको बसोबास बढ्दै गएकोले त्यसैलाई मध्यनजर गर्दै आगामी अगष्ट १५ देखि १९ सम्म टिएनसिसिको प्रंगणमा पाँच दिने महापुराण महाज्ञान गरिने भएकोले त्यसमा सहभागी हुन र सक्दो सहयोग गर्न आव्हान गरिएको टिएनसिसिका निवर्तमान अध्यक्ष डा नारायण खड्काले बताए ।
भवन बनाउन कम्तिमा ५ लाख डलरसम्म रकम आवश्यक पर्ने अनुमान गरिएको छ । सहयोगी दाताहरुले दिएको सहयोग रकमबाटै सामुदायिक भवन बनाईने भएकोले अमेरिकामा बसोवास गर्ने सबै नेपालीहरुलाई सहयोगका लागि आव्हान गरिएको संस्थाका अध्यक्ष सान्त्वना खड्काले बताए ।
भवनमा मन्दिर तथा पूजापाठ कक्ष, सभा हलसहित आन्तरिक पूर्वाधारका साथै नेपाली भाषा सस्कृति र सस्कार झल्कीने सबै हिसावले योग्य भवन हुनेछ ।
सप्ताहलाई भव्य र सफल बनाउन यस क्षेत्रमा रहेका नेपालीलाई समावेस गरेर एक सय ५१ सदस्यीय मुल आयोजक समिति प्रसिम पौडेलको अध्यक्षमा निर्माण गरिएको छ ।
नेपालीहरुका विवाह, ब्रतबन्ध, छेवार, पूजापाठ, भोज–भतेर लगायतका कार्यक्रम गर्न आफ्नै सामुदायिक भवन नहुँदा अहिले होटल, रेष्टुरेन्ट र अन्य स्थानमा जानुपर्ने बाध्यता छ ।
















प्रतिक्रिया