इटहरी, १० असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसलाई भोट दिएर गम्भीर गल्ती नगर्न इटहरीका मतदातालाई आह्वान गरेका छन । इटहरीमा शनिवार आयोजित चुनावी सभामा बोल्दै अध्यक्ष ओलीले सो आग्रह गरेका हुन ।
कांग्रेसलाई भोट दिनु भनेको वाँदरको हातमा नरिवल दिनु जस्तै हो, बादरलाई घर बनाउने जिम्मा दिन सकिन्न,’ ओलीले भने । कांग्रेसलाई जनताले पटक–पटक वहुमत दिँदा पनि केही गर्न नसकेको तथ्य राख्दै ओलीले कांग्रेसलाई साथ दिँदा देशलाई प्रतिगमनतर्फ धकेलेको तथ्य राखे । ‘कांग्रेसले देश बनाउने होइन, देशलाई प्रतिगमनतर्फ धकेल्छ, यो सच्चाई जान्दाजान्दै उस्लाई भोट दिनु भनेको आफ्नै बर्वादी निम्त्याउनु हो,’ ओलीले भने ।
ओलीले अव कसैले चाहेर पनि नाकावन्दी गर्न नसक्ने दावी गरे । आफनो नेतृत्वको सरकारले उत्तरतिर पनि वाटो खोलेको हुनाले अव देशमा कहिल्यै नाकावन्दी हुन नसक्ने ठोकुवा गरे । उनले केही बर्षभित्र किमाथाँकावाट चारलेनको वाटो धरान जोडिने वताए । पौराणिक कालका पर्शुराम र रामको उदाहरण दिँदै एमाले अध्यक्ष ओलीले भने, ‘अव पर्शुरामले जस्तो कांग्रेसले खिया लागेको वन्चरो वोकेर नहिडे हुन्छ, एमालेको जमाना आइसकेको छ ।’
पूर्वप्रधानमन्त्री ओलीले मधेशमा अहिलेसम्मकै सवैभन्दा वढी वजेट पारेर मधेशी जनताको हक हितका लागि काम गर्ने पार्टी एमालेलाई नै मधेश विरोधी भन्नु हास्याँस्पद भएको प्रष्ट पारे । सभामा एमाले मेयर पदका उमेद्वार सर्वध्वज साँवा, उपमेयर पदका उमेद्वार लक्ष्मी गौतम, प्रदेश कमिटी सदस्य सर्वध्वज साँवालगायतले सम्वोधन गरेका थिए । एमाले अध्यक्ष ओलीले आजै मोरगको उर्लावारी, पथरी र वेलवारीको सभालाई सम्वोधन गरेका थिए । इटहरीपछि ओलीले बिराटनगरको सभालाई सम्बोधन गरेका छन ।












प्रतिक्रिया