दमक (झापा) १० असार । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले देशको आर्थिक समृद्धिको विकास कांग्रेसले मात्र गर्न सक्ने दावी गर्नुभएको छ । उहाँले कांग्रेसको नेतृत्वमा ऐतिहासिक संविधान निर्माण भएको स्मरण गराउँदै अब मुलुकलाई आर्थिक समृद्धिको नेतृत्व गर्न समेत कांग्रेसमा जिम्मेवारी आएको बताउनुभयो ।
शनिवार झापाको दमकमा कांग्रेसले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै नेता सिटौलाले भन्नुभयो,– ‘कांग्रेस बलियो हुँदा मात्र देशले उपलव्धि पाएको छ । कांग्रेस हार्दा देशले नै हार खानु परेको छ । ’ स्थानीय तहमा कांग्रेसले जिते आर्थिक समृद्धिको अभियानले सार्थकता पाउने तर्क दिदै उहाँले नेपाली कांग्रेसका उम्मेद्वारहरुलाई विजयी गराउन अनुरोध गर्नुभयो ।
उहाँले कांग्रेसको सक्रिय अभिभावकत्वमा देशमा शान्ति कायम भई संविधान निर्माणको चरण पूरा भएको र तीन तहको निर्वाचन पछि संविधान कार्यान्वयन भई संक्रमणकालको जटिलता समाप्त हुने बताउनुभयो ।
सभामा कांग्रेस सदस्यहरु गुरुराज घिमीरे, विश्वप्रकाश शर्मा, सरिता प्रसाई, कांग्रेस झापा सभापति उद्धव थापा, मेयरका उम्मेदवार ढुण्डीराज भण्डारी, उपमेयरकी उम्मेदवार रेगिना भट्टराई प्रसाई लगायतले दमकमा कांग्रेसलाई जिताउन आह्वान गर्नुभएको थियो ।
त्यस अवसरमा विभिन्न पार्टीबाट कांग्रेसमा प्रवेश गर्नेहरुलाई उहाँले सदस्यता दिएर स्वागत गर्नुभएकोे थियो ।













प्रतिक्रिया