१० मंसिर २०८३, बिहिबार

भैरहवामा एमालेको विशाल चुनावीसभाः लालबाबु र धनश्यामले भने एमालेले जित्यो भने देशले जित्छ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– नरेश केसी

भैरहवा, १० जेठ । रुपन्देही सदरमुकाम भैरहवामा अहिले दिनदिनै चुनाबी सभा भइरहको छन् । एमाले, कांग्रेस, राप्रपा र माओवादी केन्द्रबीच सभा गर्नेको होडबाजी नै चलेको छ । यसैबीच एमालेले असार १४ गतेको चुनाबलाई लक्षित गरी सिद्धार्थनगर भैरहवामा एमालेका उपमहासचिव घनश्याम भुसाल र प्राध्यापक डा. लालबाबु प्रसाद यादवको आतित्थयतामा विशाल रयाली सम्पन्न गरेको छ ।

सभालाई सम्बोधन गर्दै एमाले उपमहासचिव घनश्याम भुसालले सिद्धार्थनगरको बृहत्र विकास गर्न एमालेले जसरी पनि जित्नै पर्ने बताएका छन् । लामो इतिहास र विरासत बोकेको नगरले विकासमा फड्को मार्न नसक्नु विगतका जनप्रतिनिधिको कमजोरी भएको उनले बताए ।
उनले छिमेकी नगरहरु छोटो समयमा विकास निर्माणमा फड्को मारिरहँदा सबैभन्दा पुरानो, पर्यटकीय, र आर्थिक चलायमान भएको नगर पछाडि पर्नुमा वर्षौंदेखि यहाँ जरो गाडेर रहेका शक्ति नै दोषी भएको आरोप लगाए ।

‘एमालेले नै सबैको कदर गर्छ, विकासका मुहान फुटाउँछ’, पूर्वमन्त्री समेत रहेका भुसालले भने– ‘पाँच वर्ष एमालेलाई नेतृत्व दिनुस् विश्वको ध्यान केन्द्रित हुने गरी काम गर्छौं, सबैको सम्मान गर्छौ, सबैको अधिकार संरक्षण गर्छौं ।’ मेयरका उम्मेदवार हरिप्रसाद अधिकारी र उपमेयरकी उम्मेदवार उमा काफ्ले समाज र नगर विकासका सच्चा खम्बा भएको बताउँदै उनले विगतमा उनीहरुले देखाएको नैतिकता, इमान्दारिता, पारदर्शिता, विकासका योजनालाई हेरी जिताउन नगरबासीलाई आग्रह गरे ।

सोही अवसरमा तराइ मधेस मामलाका विज्ञ प्राध्यापक डा.लालबाबु प्रसाद यादवले एमालेले जिते मात्रै समग्र मधेशको विकास सम्भव भएको बताए । आफू पनि मधेशको धर्ती पुत्र भएको बताउँदै उनले एमाले सरकारको पालामा जति इतिहासमा मधेशले सेवा, सुविधा र विकास निर्माणमा बजेट नपाएको दावी गरे । ‘सधै मधेशको ठेकेदार सम्झने केही दल र तिनका नेताहरुले एमालेलाई मधेश विरोधी भन्छन् तर आफूले मधेशका लागि के गरेँ भनेर कहिल्यै बताउन सक्दैनन्’, यादवले भने– ‘यदि मधेशी जनता र मधेसलाई हित हुने योजना छन् भने केबल एमालेसँग मात्रै छन् ।’

प्रजातन्त्र र लोकतन्त्रवादी सम्झने काँग्रेस, माओवादी, मधेश केन्द्रित दलहरु तथा राजावादी र हिन्दू धर्मको वकालत गर्ने राप्रपाकै कारण मधेशी जनता सधै शोषणमा परेको जनाउँदै यादवले असार १४ मा हुने स्थानीय तह निर्वाचनमा एमालेलाई जिताई मधेशमा विकासको मुहान फुटाउन आग्रह गरे ।

प्राध्याक डा. यादवले मधेसबादी दलले नै मधेसी जनतामाथी अन्याय गरेको बताए । उनले मधेसवादी दलले ५ जना राजदूत सिफारीश गर्दा एक जना पनि मधेसी समुदायको नगरेको , ८० जना न्याधिस नियुक्तिमा त्यस्तै विभेद गरेको जनाए । प्रा.डा. यादवले मधेसी नेताहरुले आफु मन्त्री र श्रीमतीलाई सांसद गराउने बाहेक केही काम नगरको आरोप लगाउदैं पहिले आफू नेपाली भएको र त्यसपछि मधेसी अनि मात्र यादब भएकोमा जोड दिए ।

उनले तराइ मधेसको महत्वपुर्ण जिल्ला रुपन्देही सदरमुकाम भैरहावमा एमालेले हारयो भने देशले चुनाब हार्ने र एमालेले जित्यो भने देशले जित्ने बताउदैं सबै समुदायले एमाले उमेदवारलाई मतदान गर्नुपर्नेमा जोड दिए । यादवले ६ दल मिलेर बनेको राजपाका सिद्धान्तकार राजेश अहिराज र दिपेन्द्र झाले समेत सुर्वणशमसेर प्रधानमन्त्री भएदेखी के.पी ओली प्रधानमन्त्री हुदां सम्म मधेसकालागी सबैभन्दा बढी बजेट ओली सरकारले दिएको लिखीत रुपमा बताएको जनाउदैं एमाले तराइ मधेसको प्रीय पाटि, जिम्मेवार पाटि भएको पनि बताए ।

एमाले नेता तथा सांसद आदित्य नारायण कसौधनले सबै जातजाति, धर्म, संस्कृति र समुदायको संरक्षण गर्ने पार्टी एमाले नै भएको बताए । उनले सिद्धार्थनगरको विकासका लागि एमालेले धेरै काम गरेको बताउँदै आगामी दिनमा नगरलाई समृद्धिको बाटोमा डोर्याउन जसरी पनि एमाले उम्मेदवारहरुलाई जिताउन नगरबासीलाई आग्रह गरे ।

मेयर पदका उम्मेदवार हरिप्रसाद अधिकारी र उपमेयर पदकी उम्मेदवार उमा काफ्लेले आफूहरुले जहिले पनि जनमतको कदर गर्ने बताउँदै निर्वाचित भए नगरलाई समुन्नत र विकासित नगर बनाउने बताए । उनीहरुले सुशासन र पारदर्शिता आफूहरुको पहिलो प्राथमिकता भएको बताउँदै महिला, पिछडा, सीमान्तकृत, अल्पसंख्य, आदिवासी, मधेशी, मुस्लिम समुदायको हकअधिकार संरक्षण गर्दै नगरलाई सुन्दर, हराभरा र पर्यटकीय नगरका रुपमा विकास गर्ने प्रतिबद्धता जनाए ।

एमाले पाँच नम्बर प्रदेश निर्वाचन परिचालन कमिटी सदस्य भरतकुमार पोखरेलले सधैभरी जनतालाई भेडाबाख्रा सम्झी जाँड–रक्सी र पैसा बाँडेर चुनाव जित्ने सपना नदेख्न आग्रह गरे । उनले वर्षमा ३ सय ६४ दिन जनताको खुनपसिना चुस्ने र १ दिन लोभलालचमा पारी चुनाव जित्न बानी परेका केही शक्तिहरु अहिले पनि रातिको समयमा विभिन्न ठाउँमा बालुवा खसाल्ने, रक्सी खुवाउने, पैसा बाँड्ने जस्ता मर्यादित र अपाच्य क्रियाकलापमा तल्लिन हुन थालेको आरोप लगाए । उनले अमर्यादित क्रियाकलाप गर्ने जोसुकैलाई पनि एमालेले तह लगाउने बताउँदै भ्रममा नपर्न नगरबासीलाई आग्रह गरे ।

कार्यक्रममा पाँच नम्बर प्रदेश सदस्य पुष्पाञ्जली उपाध्याय, जिल्ला सदस्यहरु प्रेमकुमार सेन्चुरी, जीवलाल अर्याल, पम्फावती खनाल, लालमोहमद पठान, उमा अधिकारी, वडा नम्बर १ का वडाअध्यक्षका उम्मेदवार धर्मराज गिरी, २ का दिपक थापा, ३ का थानेश्वर पौडेल, ४ का इस्लाम अली चुडिदार, ५ का चेतबहादुर क्षेत्री, ६ का नसीबदार मुसलमान, ७ का हितराज पन्थी, ८ का राजेन्द्रप्रसाद पन्थी, ९ का शेषकान्त भण्डारी, १० का शंकर मुराव, ११ का दिलिप यादव, १२ का घनेन्द्रविक्रम पाण्डे, १३ का शतिष मर्सानी र सयौं सर्वसाधारणको सहभागिता रहेको थियो । एमाले वडा नम्बर ८ का वडाअध्यक्षका उम्मेदवार राजेन्द्रप्रसाद पन्थीको संचालनमा कार्यक्रम भएको थियो । सभा पहिले एमालेले भैरहवाको लुम्बिनीगेटबाट वृहत र्याली निकालेको थियो ।