– लक्ष्मण विश्वकर्मा
तुलसीपुर, १० असार । दोस्रो तहको निर्वाचनका सन्दर्भमा दाङ जिल्ला चर्चामा रहेको छ । दाङ जिल्लामा दुईवटा उप महानगरपालिका भएका कारणले पनि राष्ट्रिय चर्चामा रहेको छ । चर्चा उमेदवारहरुका कारणले पनि रहेको छ । तुलसीपुर उप महानगरपालिकामा पहिले नगरपालिका चलाएका अनुभवी घनश्याम पाण्डे र पूर्व सांसद गेहेन्द्र गिरीको उमेदवारीले पनि चर्चामा रहेको छ ।
तुलसीपुर उप महानगरपालिका चलाउनका लागि मेयरमा उमेदवारी दिएका सवैले जित्ने दावी गरिरहेको भएपनि नेकपा एमाले बढी उत्साहित देखिएको छ । तुलसीपुर उप महानगरपालिकामा साविकको नगरपालिकाका उमेदवार घनश्याम पाण्डे नेकपा एमालेबाट निर्वाचित हुनुभएको थियो । पाण्डे २३ बर्षकै उमेरमा उपमेयर हुनुभएको थियो भने उहाँको कार्यकाल सफल कार्यकाल बनेको थियो । यतिवेला पनि तुलसीपुरबासीले उहाँको कार्यकाल सँझना गरिरहेका छन् ।
पाण्डेको घर तुलसीपुर उप महानगरपालिका वडा नं. ८ अश्वासमा पर्दछ । सामान्य किशानस परिवारमा जन्मनुभएका पाण्डेको अन्तराष्ट्रिय व्यक्तित्व रहेको छ । २०५९ सालसम्म उपमेयर हुुनुभएका पाण्डे पछि सामुदायिक बन महासंघमा आवद्ध हुनुभयो । उहाँ सामुदायिक बन उपभोक्ता महासंघ नेपालको अध्यक्षका साथै अन्तराष्ट्रिय बन सञ्जालको पनि अध्यक्ष हुनुभयो । सामान्य किसान परिवारमा जन्मनुभएका पाण्डे अध्ययनकै क्रममा अनेरास्ववियुबाट पाल्पा बहुमुखी क्याम्पसको स्ववियु उपसभापति हुनुभएको थियो । उहाँ हाल नेकपा एमालेको प्राकृतिक स्रोत साधन विभागको सदस्य हुनुहुन्छ ।
पाण्डेले एम. ए., एल. एल. वि र विएसी सम्मको अध्ययन पुरा गर्नुभएको छ । २०५४ सालको स्थानीय निकायको निर्वाचनमा नेकपा एमालेको तर्फबाट तत्कालीन तुलसिपुर नगरपालिकाको उपमेयरको टिकट पाएर निर्वाचनमा सबैभन्दा बढी मत ल्याएर विजयी हुनु भएको थियो । २०६२÷२०६३ जनआन्दोलनमा केन्द्रिय तहमा नेतृत्व गर्ने क्रममा एक महिना प्रहरी हिरासतमा समेत बस्नुभएको थियो ।
आफ्नो उमेदवारीले तुलसीपुर क्षेत्रका मतदाताहरु उत्साहित भएको दावी पाण्डेको छ । उहाँले तुलसीपुरलाई मुलुककै उत्कृष्ठ उप महानगर बनाउने अनेकन योजनाहरु साँच्नुभएको छ । उहाँले आफु मेयरमा विजयी भएपश्चात पाँच वर्ष भित्र गर्ने योजनाहरु ल्याउनुभएको छ । तत्कालका लागि केही र दिर्घकालिनका लागि केही योजना पाण्डेले सार्वजनिक गर्नुभएको छ ।
उपमेयरका रुपमा पाँच बर्ष काम गर्दा राम्रो छबि बनाएका कारण पाण्डेलाई पार्टीगत रुपमा मात्रै होइन अन्य विपक्षिहरुको पनि मत आउने अपेक्षा गरिएको छ । तुलसीपुरको विकासको बारेमा स्पष्ट भिजन भएको साथै विगतमा पनि काम गरेको अनुभव भएकाले आफूलाई रुचाएको उहाँको दावी छ ।
पाण्डेले नगरपालिकाको जिम्मेवारीका साथै सामाजिक क्षेत्रमा सहभागिता जनाउनुभयो । विशेषतः ग्रामीण विकास, सामुुदायिक वन, जनलवायुु परिवर्तन, उद्यमशिलता विकास, समाजिक परिचालन, नतिजामुुखी योजना तर्जुमा, अनुगमन, सामुुदायिक संचार, नीतिगत पैरवीमा दक्षता, संगठन निर्माण र परिचालन, अन्तराष्ट्रिय समन्वय र सम्पर्क, वंैक तथा वित्तिय विकास, सहकारी तथा गरिवी निवारण, व्यावसायी कृषि तथा वजारीकरण, राजनीतिक परिचालनमा दख्खल राख्ने नेता पाण्डे तुलसीपुरको विकासका लागि एमालेलाई जिताउन आग्रह गर्नुहुन्छ ।
पाण्डेले आगामी पाँच बर्ष भित्रमा तुलसीपुरको मुहार सम्पूर्ण रुपमा परिवर्तन गर्ने बताउनुभएको छ ‘हिजो म उपमेयरमा बिजयी हुँदा समेत जनताका कामलाई प्राथमिकता दिएर काम गरेको थिए ।’ उहाँले भन्नुभयो । अहिले स्थानीय तहको संरचना पनि परिवर्तन भएको छ । आज यो अवस्थामा आइपुग्दा फरक ढंगले काम गर्नुपर्नेछ–उहाँले भन्नुभयो– अब हामी हिजोमा रहन सक्दैनौ । त्यसका लागि हामीले काम गर्नुपर्छ । हामीलाई जिम्मेवारी दिनुस एमालेले तुलसीपुरको मुहार महसुस हुनेगरी वास्तविक रुपमा परिवर्तन गर्नेछ ।’
यस्ता छन् पाण्डेका प्राथमिकताहरु
सडक सञ्जालको निर्माणलाई प्राथमिता दिइनेछ । तुलसीपुर प्रवेशद्धारको सडकलाई चार लेन बनाउनुका साथै सार्वजनिक सवारी, एम्वुलेन्स अनि दमकलका लागि सहायक मार्गको निर्माण गर्ने ।
तुलसीपुर उपमहानगरपालिकालाई सफा, स्वच्छ, सुन्दर, समृद्ध, सुरक्षित, आधुनिक र सुविधा सम्पन्न हरित बनाइनेछ ।
विभिन्न धर्म र संस्कृति अनुसारका शवदाह गृह निर्माण गरिनेछ । साथै अल्पसंख्यक र पछाडी पारिएका समुदायलाई प्राथमिकतामा राखी कार्यक्रम सञ्चालन गरिनेछ ।
उपमहानगर क्षेत्रमा चक्रपथ निर्माण गरिनेछ । चक्रपथ मार्फत तुलसीपुरका सबै वडालाई जोडिनेछ ।
घोराही–तुलसीपुर मोनो रेल सञ्चालनको सम्भाव्यता अध्ययन गरी सबै खोलाहरुमा यातायातको सहजताका लागि पक्कि पुल निर्माण गरिनेछ ।
एकिकृत वस्तिको विकास गरी उपमहानगरका सबै घरमा एकै खालको रंगको प्रयोगमा ल्याइने छ । साथै घरको संरचना एकै खालको बनाएर नमुना वस्ति निर्माण कार्यलाई जोड दिइनेछ ।
खेलकुदको विकासका लागि प्रत्येक वस्तिहरुमा खेल मैदानको निर्माण गरिनेछ । खेलकुदको प्रोत्साहन गर्न खेलकुद महाविद्यालय समेत सञ्चालन गर्ने कुरालाई प्राथमिकता दिइनेछ ।
हरेक गाउँमा सिचाई सुविधा पु¥याउनका लागि ‘एक बस्ती एक पोखरी’ निर्माण गर्नुका साथै बबई नदीको पानी लिफ्ट प्रणालीबाट ल्याएर सिंचाई सुविधा विस्तार गरिनेछ । उपमहानगरवासीको आर्थिक सम्पन्नताको लागि ‘एक घर एक रोजगारी, एक उद्यम एक गाउँ’ जस्ता कार्यक्रम मार्फत आर्थिक समृद्धि तर्फ समुदायलाई अगाडि बढाउने कार्यक्रम सञ्चालन गरिनेछ ।
तुलसीपुरलाई पर्यटनको हबका रुपमा विकास गर्नका लागि हरेक वर्ष ‘तुलसीपुर घुम्न जाउँ’ भन्ने राष्ट्रिय अभियान सञ्चालन गरेर हरेक वर्ष हजारौको संख्यामा पर्यटक भित्राउने कार्यलाई प्रोत्साहन गरिनेछ ।
कला संस्कृतिको विकासका लागि यस क्षेत्रमा वाहुल्यता रहेको थारु जातिका लागि संग्रहालय निर्माण गरी हरेक वर्ष नगरपालिकाको तर्फबाट उत्कृष्टताका आधारमा पुस्तकको प्रकाशन गर्ने कार्यलाई अगाडी बढाइनेछ ।
वर्तमान पुस्ताको माग बमोजिम प्रेम पार्क निर्माणका साथै सार्वजनिक ठाउँमा फ्रि वाइफाइको व्यवस्था गरिनेछ ।
उप महानगरपालिकालाई हरित नगरका रुपमा विकास गर्नका लागि ‘एक मुख र दश रुख’का दरले अनिवार्य वृक्षरोपण गर्ने तथा ‘सफा तुलसीपुर हरियाली तुलसीपुर’का रुपमा तुलसीपुरको पहिचान निर्माणको कार्य अगाडी बढाइनेछ ।
तुलसीपुर उपमहानगरपालिकालाई पूर्णतः पारदर्शी बनाइ जनताको काम छिटो छरितो सम्पन्न गर्नका लागि कार्यालयहरुलाई प्रविधिमय बनाइनेछ ।













प्रतिक्रिया