मोरङ, ९ असार । मोरङको सहरउन्मुख र आर्थिक केन्द्रका रुपमा चिनिएको सुन्दर हरैंचा नगरपालिकाका मेयर उम्मेदवार केदार गुरागाई प्रति जनलहर उर्लिएको छ । एमालेका तर्फबाट मेयर उम्मेदवार बन्नु भएका उहाँलाई भोट माग्नका लागि पुगेका सबै ठाउँमा भव्य स्वागत गर्न थालिएको छ । मतदाताको आसा र भरोसाका रुपमा उभिनु भएका गुरागाई प्रति बढ्दो जनलहरले सुन्दरहरैंचा नगरपालिकामा एमालेको जितलाई निश्चित बनाएको छ ।
कर्मठ, जुझारु, नेत्रृत्वदायी भूमिका निर्वाह गर्ने क्षमता भएका, विकास एवं युवा प्रेमी गुरागाईको उम्मेदवारीले अरु दललाई ठूलो धक्का लागेको छ । गुरागाईको सक्रियता र मतदाताको मायाँ एवं सद्भावका कारण सुन्दरहरैंचा एमालेमय बनेको छ । टोलटोलबाट एमालेलाई साथ दिने र सहयोग गर्नेको जमात बढ्दै जाँदा एमाले उम्मेदवारहरु उत्साहित भएका छन् ।
सुन्दरहरैंचामा विकासको कायापलट गर्ने घोषणा गरिसक्नु भएका उहाँले आम जनताको मतबाट नगर प्रमुखमा विजयी भएपछि सबै समय जनसेवामै खर्चने बताउनु भयो । ‘मलाई यहाँका जनताले ठूलो साथ दिइरहनु भएको छ । मत एउटा पात्र मात्र हो,’ उहाँले भन्नु भयो, ‘सबै भरथेग जनताकै हो । म पनि संधै जनताकै सेवामा समर्पित हुने छु ।’ उहाँले सुन्दरहरैंचालाई बन्दमुक्त क्षेत्र बनाउने उद्धघोष पनि गर्नु भएको छ ।
गुरागाई अहिले उपमेयर उम्मेदवार धना तामाङ सहित अन्य उम्मेदवारलाई साथमा लिएर मतदाता भेटघाट, घरदैलो र चुनावी अभियानमा व्यस्त हुनुहुन्छ । तामाङ सफल महिला नेत्रृका रुपमा चिनिनुहुन्छ । स्थानीय स्तरमा महिला उत्थान र विकास निर्माणका लागि उहाँले गरेका सबै काम प्रसंसा योग्य छन् । उहाँ अहिले सयौं महिलाहरुको सहयोगमा मत माग्न व्यस्त हुनुन्छ । उहाँ एमाले जिल्ला उपसचिव एवं अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य पनि हो ।
गुरागाई र तामाङ जनप्रिय, विकास प्रेमी, राजनैतिक नेत्रृत्व गर्न सक्ने, जनतासंगको नियमित सम्पर्क बढाउने, जनतालाई दुःख पर्दा सहयोग गर्ने नेताका रुपमा चिनिनुहुन्छ । उहाँहरु सहभागी भएको सबै चुनावी अभियानमा जनलहर उर्लने गरेको छ । गुरागाईको सहयोगी स्वभावलाई सम्मान गर्दै अन्य पार्र्टीबाट एमालेमा प्रवेष गर्नेहरुको लर्को लाग्न थालेको छ । यसले अरु पार्टीलाई ठूलो धक्का पुगेको छ । सुन्दरहरैंचा एमालेको लालकिल्लाका रुपमा चिनिन्छ । २०७० सालको संविधानसभा निर्वाचनमा क्षेत्र नम्बर ८ मा पर्ने यहाँबाट एमालेका चन्द्रबहादुर गुरुङ भारी मतले विजयी बन्नु भएको थियो । एमालेको मजवुत संगठन रहेको यहाँ अरु पार्टीले जितको कल्पना पनि गर्न नसक्ने एमाले नेताहरु बताउँछन् । खोटाङको डाँडा गाउँमा २०२४ सालमा जन्मिनु भएका गुरागाईले अनेरास्ववियुबाट राजनीतिक यात्रा सुरु गर्नु भएको हो । एमाले मोरङका सचिवालय सदस्य उहाँको योगदान सुन्दरहरैंचामा धेरै छ ।
अनेरास्ववियुका पूर्व केन्द्रीय सदस्य बद्री अर्यालका अनुसार स्थानीय स्तरमा शैक्षिक उन्नयन गर्ने देखि लिएर सहकारी संचालन एवं विराटचौकमा खानेपानी आयोजना संचालन गर्ने सम्मको सामाजिक काममा उहाँको देन छ । एक दर्जन भन्दा बढी सामाजिक संघ संस्थामा आवद्ध भएर काम गरेको अनुभव गुरागाईसंग रहेको अर्यालले बताउनुभयो । गुरागाईलाई अहिले सांसद चन्द्रबहादुर गुरुङ, एमाले नेता राजकुमार ओझा, अर्जुन अधिकारी, अजम्मबर राई, पितकुमार श्रेष्ठ लगायतका एमाले नेता कार्यकर्ता समेतले अहोरात्र सहयोग गरिरहनु भएको छ । सबै नेताहरुले पार्टीको निर्णयलाई सर्वोपरी ठान्दै आफ्ना उम्मेदवार जिताउन गर्नु पर्ने अभियानमा होमिएका छन् ।
यहाँको उम्मेदवार छनौटलाई लिएर गुरुङ र ओझा लगायतका केही नेताहरु असन्तुष्ट देखिए पनि उहाँहरुले अहिले कुनै असन्तुष्टि नरहेको बताउनु भयो । सबै नेता उम्मेदवारहरुलाई जिताउन कम्मर कसेर लाग्नु भएको छ । गुरुङ र ओझाले सुन्दरहरैंचामा एमाले बाहेक अरु दलले जित्न नसक्ने बताउनु भयो । एमालेप्रतिको बढ्दो जनलहर, मजवुत संगठन एमालेको जित्ने आधार रहेको उहाँहरुले बताउनु भयो । यहाँको विकास निर्माणदेखि लिएर जनताको दुःखमा समेत एमाले साथमा रहेको र अरु पार्टी जनताकोबीचमा जान नसकेको उहाँहरुको भनाइ छ ।
एमालेको मत सर्वेक्षण टोलीले समेत एमाले उम्मेदवारहरुले चार हजार बढी मतअन्तरले जित्ने जनाएको छ ।












प्रतिक्रिया