२१ कार्तिक २०८३, शनिबार

सेवक नेपालले असार मसान्तभित्र २ सय २८ धारामा पानी खसाल्ने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चरिकोट, ९ असार । दोलखा जिल्लाका १२ वटा साविक गाविसमा सेवक नेपालले यही असार मसान्तभित्र २ सय २८ वटा धारामा पानी खसाल्ने भएको छ । करिब २ करोड २५ लाखको लगानीमा सञ्चालन भईरहेका २५ वटा आयोजनाहरुबाट कुल ९ सय ८१ घरधुरी समेटेर ४ हजार ८ सय ४९ जना ब्यक्ति प्रत्यक्ष लाभान्वित हुनेछन् । हाल खारे गाविसमा २ वटा आयोजनाको निर्माण सकिइसकेको र ती योजनाबाट १७ वटा धारामा पानी झर्न थालिसकेको छ, बाँकी २३ वटा खानेपानी आयोजना निर्माणको अन्तिम चरणमा रहेकाले अबको २०/२२ दिनभित्र पानी सञ्चालन हुने बताउनु हुन्छ, जिल्ला प्रबन्धक प्रल्हाद तिमल्सिना ।

आयोजना अवधीभर १ सय ९ वटा खानेपानी आयोजना निर्माण गर्ने उद्घेश्यसहित सहित काम गरिरहेको यो संस्थाले दोलखाका साविक लामाबगर, खारे, लादुक, चिलंखा, बाबरे, लामिडाँडा, मेलुङ, जफे, च्यामा, सहरे, मिर्गे र क्षेत्रपा गाविसहरुमा ८८ वटा खानेपानी आयोजनाको सम्भाब्यता अध्ययन गरिसकेको छ । करिब ११ करोडको कुल बजेट सहित दोलखा आएको सेवक नेपालले ५ वटा घना बस्ती भएका सार्वजनिक स्थलहरुमा अत्याधुनिक सार्वजनिक शौचालय निर्माण गर्ने छ ।

“सफा पानी” नाम दिएर सुरु गरिएको यो आयोजनामा भौतिक निर्माण मात्र नभई उपभोक्ता समितिको क्षमता अभिबृद्घि, समुदाय तथा विद्यालयहरुमा स्वाथ्य र सरसफाई प्रबर्धन सहितका विभिन्न तालिमहरु पनि समावेश गरिएको छ । अमेरिकी सहायता नियोग (युएसएड) को आर्थिक सहायता र स्थानीय साझेदार संस्था सामुदायिक विकास मञ्च (सिडिएफ) नेपाल सहित नेदरल्याण्ड, फ्रेञ्च सहायता साथै माथिल्लो तामाकोशी आयोजनासँग पनि सेवक नेपालले सहकार्य गरिरहेको छ ।

कार्यस्थलमा निर्माण सामग्रीको अभाव, दक्ष÷अदक्ष कामदारको अभाव साथै ज्याला बृद्घिले काममा कठिनाई उत्पन्न भएता पनि उपभोक्ता समितिको उत्साह र समर्थनले काम अघि बढीरहेकोले आयोजनाहरु समयमै पूरा हुने तिमल्सिनाको दावी रहेको छ ।