घोराही, ८ असार । वर्षा लागेसंगै दाङ जिल्लामा ‘मृत्यु’को यात्रा सुरु भएको छ । जिल्लाका खहरे खोलाहरूमा निर्माणाधीन पुलहरूको निर्माणकार्य समयमा सम्पन्न नहुँदा यस्तो अवस्था आएको हो ।
दाङको कुइरेपानी–घोराही–तलसीपुर सडकखण्डअन्तर्गत विभिन्न खोलाहरूको पुल सम्पन्न गर्न ठेकेदार कम्पनी र सडक डिभिजन कार्यालय घोराहीले लापरबाही गरेकै कारण वर्षातका बेला मृत्युसँग जेधेर हिँड्नु पर्ने बाध्यता आएको दङ्गालीहरूले बताएका छन् ।
कुइरेपानी–घोराही–तुलसीपुरका सडकमा सिमेन्ट उद्योगहरूका ठूला सवारी साधन चल्दा सडकहरू भत्किएर अस्तव्यस्त भएका छन् ।
बसका चालक जितबहादुर चौधरीले वर्षाका बेला खोलामा आउने बाढीले सधै त्रास भइरहने गरेको बताए । ‘खै कहिले बन्ने हो पुल ?’, उनले भने, ‘यहाँ जसले जे गरे पनि हुन्छ । समयमा काम गर्ने कसैले होइन ?’
दाङका खोलाहरूमा पुल निर्माण र सुरक्षित डाईभर्सनका लागि स्थानीयले पटक पटक दवाव दिँदा आएका छन् । तर, राजनीतिक संरक्षणमा रहेका ठेकेदारहरू र सडक डिभिजन कार्यालयले समयमा काम सम्पन्न गर्ने तिर कहिल्यै ध्यान नदिएको गुनासो छ ।
बबई, कटुवा खोला, गुर्जे खोला, संग्राम खोलामा पक्कि पुल निर्माणधीन अवस्थामा रहेका छन् । ती खोलामा ठेकेदारहरूले ४० प्रतिशत पनि काम पूरा गरेका छैनन् । घोराहीको कटुवाखोलामा पुल निर्माण सुरु भएका वर्षौ भइसकेको छ । तर, स्थानीय ठेकेदारले काम नगर्दा समस्या आएको हो ।
सबै खोलाहरूमा अहिलेसम्म पुल बनिनसक्नु पर्ने हो । तर, नीतिगत र आर्थिक भ्रष्टाचार भएका कारण समयमा काम पूरा हुन नसकेको स्थानीयको भनाइ छ ।














प्रतिक्रिया