९ मंसिर २०८३, बुधबार

प्रदेश र केन्द्रीय संसदको चुनाव मंसिरभित्र एकै चरणमा गर्ने सरकारको तयारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ असार । नेपाली कांग्रेसका नेता एवम् निर्वतमान परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले मंसिर अन्तिमसम्म प्रदेश र केन्द्रिय संसदको निर्वाचन एकै चरणमा सम्पन्न गर्नेगरि सरकारले गृहकार्य सुरु गरेको बताएका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महतले मंसिरसम्म सरकारले दुई वटै निर्वाचन एकै चरणमा सम्पन्न गर्नेगरि अहिलेदेखि नै तयारी सुरु गरिसकेको बताएका हुन् । उनले भने, ‘दुईवटा निर्वाचन छुट्टाछुट्टै गर्दा धेरै खर्चिलो र झन्झटिलो हुने भएकोले एकै चरणमा निर्वाचन गर्नुपर्छ भन्ने मेरोपनि पनि मान्यता हो, अहिले सरकारले त्यही अनुसार गृहकार्य सुरु गरिरहेको छ ।’

उनले प्रदेश र केन्द्रिय संसदको निर्वाचन एकै चरणमा गर्दा पैसाको मात्रै बचत नभएर मुलुकको सिमित साधन र स्रोधहरुको पनि बचत हुने जिकिर गरे । महतले भने,‘एकै चरणमा निर्वाचन गर्दा मुलुक र जनता दुवैको लागि हितकर हुन्छ।’ त्यस्तै उनले एकै चरणमा निर्वाचन गर्दा पार्टीले उम्मेद्धवारलाई टिकट दिन पनि सहज हुने जिकिर गरे ।

महतले संविधान कार्यान्वयन गर्नको लागि कांग्रेस र नेकपा माओवादी केन्द्रबीच गठबन्धन बनेको उल्लेख गर्दै भने,‘हामी दुई पार्टीवीचको तालमेल भनेको लोकतन्त्रलाई संस्थागत गर्न र विधिको बाटोमा मुलुकलाई हिँडाउनको लागि हो, मुलुकमा शान्ति प्रक्रिया सुरु गर्दापनि हामी दुई पार्टीवीच सहमति, सहकार्य र एकता भएको हो ।’

उनले दोस्रो चरणको स्थानीय तहको निर्वाचन पनि एकै चरणमा गर्ने सरकारको उद्देश्य भएपनि राजपाको सहमतिमा प्रदेश नम्बर २ को निर्वाचन तेस्रो चरणको लागि सारिएको उल्लेख गर्दै असोज २ गतेपछि अब कुनैपनि हालतमा निर्वाचन नसर्ने जिकिर गरे । उनले भने, ‘असोज २ गतेको निर्वाचन अब कसैले पनि टार्न सक्दैन् ।’ उनले राजपाले आफूहरुसँग एउटा सहमति गरेको र बाहिर आएर सहमति मान्दिन भनेको आरोप लगाउँदै यसले स्वयम राजपाको जनाधार नै कमजोर बनाउने ठोकुवा गरे । उनले राजपालाई धेरै गिजोल्ने काम नगर्न आग्रह समेत गरेका छन् ।

महतले अहिले देशमा लगानीको राम्रो वाताबरण बनेको समेत जिकिर गरे । उनले भने, ‘देश राजनितीक रुपमा रुमलिए पनि अबको समय भनेको आर्थिक समृद्धितर्फ लागनुपर्ने बेला हो, मुलुकलाई आर्थिक समृद्धिको बाटोमा हिँडाउनको लागि हामी केन्द्ति हुनुपर्छ ।’ उनले अब देश नारावादको आधारमा नचल्ने समेत जिकिर गरे । उनले भने, ‘देशको नाममा एउटा कुरा गर्ने अनि कुटनीतिक टेबुलमा केही नबोल्ने तर सडकमा भने आकाश र पाताल जोड्ने कुरा गरेर देश बन्दैन् ।’

स्थानीय तहको निर्वाचनमा चुनावी तालमेलले सहमतिको राजनीतिलाई अगाडि बढाउन सहयोग पुगेको उनको विश्वास थियो । महतले भने, ‘चुनावी तालमेलले जनतालाई फाईदा पुगेको छ ।’

जनसंख्याको आधारमा १०/२० स्थानीय तहको संख्या थप्दा कसैलाई घाटा हुँदैन्: शर्मा

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले पनि प्रदेश र केन्द्रिय संसदको चुनाव मंसिरको अन्तिमसम्ममा एकै चरणमा गर्नुपर्ने र यसको लागि वर्तमान सरकारले गृहकार्य गरिरहेको बताएका छन् ।

शर्माले मंसिरभित्रै प्रदेश र केन्द्रिय संसदको चुनाव एकै चरणमा गर्दा मुलुक र जनतालाई नै फाईदा हुने विश्वास दिलाए । उनले भने, ‘समयको बचत भयो, पैसाको पनि बचत हुन्छ, मुलुकलाई भार पर्दैन, त्यसैले प्रदेश र केन्द्रिय संसदको निर्वाचन एकै चरणमा गर्नुपर्छ।’

उनले तराई–मधेशको मुद्दा राष्ट्रिय मुद्दा भएको उल्लेख गर्दै भने,‘मधेसको मुद्दा कुनै एक पार्टीको नभएर राष्ट्रिय मुद्दा हो, संविधानमा विभेद भएमा संशोधन गरेर जान सक्ने संविधानमा स्पष्ट छ, त्यसैले संविधान संशोधनमार्फत उहाँहरुको माँग पूरा गर्नको लागि सरकारले पहल गरिरहेको छ, तर चुनाव बहिस्कार गरेर पार्टीलाई फाइदा हुँदैन, बरु जनताबाट बहिष्कार भईन्छ ।’
शर्माले असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचन समयमानै सम्पन्न हुने बताए । यद्धपी उनले २ नम्बर प्रदेशमा पनि असार १४ गते नै निर्वाचन गराउन नसक्नु बिडम्बना भएको टिप्पणी गरे ।

उनले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले बाँकी तीनै तहको निर्वाचन सफल रुपमा सम्पन्न गराउने र त्यसमा शंका गर्न नहुने धारणा राखे । उनले भने,‘सरकारले निर्वाचनको वातावरण बनाउन आजभोलिबाटै काम अगाडि बढाउनुपर्छ, सरकारले निर्वाचन क्षेत्र निर्धारण आयोग गठन तत्काल गर्नु पर्छ ।’

शर्माले जनसंख्याको आधारमा स्थानीय तहमको संख्या १० वा २० थप्दा कसैलाईपनि घाटा नहुने जिकिर गरे । उनले भने, ‘जनसंख्याको आधारमा संख्या थप्दा कसैलाई पनि घाटा हुँदैन्।’ उनले प्रदेश नम्बर २ को स्थानीय तहको तेस्रो चरणको निर्वाचन आउनको लागि अझै समय बाँकी भएकोले यो बीचमा संविधान संशोधन र बाँकी राजनीतिक माँगहरु सम्बोधन गर्नको लागि सरकारले पहल गर्नुपर्ने सुझाव समेत दिए ।

उनले स्थानीय तहको निर्वाचनमा भएका चुनावी तालमेललाई सकारात्मक रुपमा लिनको लागि आग्रह गरे । उनले भने, ‘चुनावी तालमेल भनेको फाईदाको लागि नै हो, यसले कतिपय ठाउँमा फाईदा पुगेको छ भने कतिपय ठाउँमा सोचेजस्तो भएको छैन।’