काठमाडौं, ६ असार । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरुले दरबारसँग वार्ता गरेर शान्ति प्रक्रियामा आउने प्रयास गरेको बताएका छन् ।
नेपाल पत्रकार महासङ्घका महासचिव उजिर मगरद्वारा लिखित अंश नामक पुस्तकको आज यहाँ लोकापर्ण गर्दै उनले भने– ‘हामीहरु दरबारसँग वार्ता गरेर शान्ति प्रक्रियालाई टुंग्याउने कोसिसमा थियौं । त्यहीबीचमा दरबार हत्याकाण्ड भयो । जसका कारण वार्ता रोकियो । ज्ञानेन्द्रले आँट नगर्दा दिल्लीमा गएर राजनीतिक दलसँग वार्ता गर्नुपर्यो ।’
पूर्वप्रधानमन्त्री प्रचण्डले आफू एक्लैले जनयुद्धको तयारी गर्ने भए २०४४ सालबाटै सुरु गर्न खोजेको उल्लेख गर्दै २०४६ सालको राजनीतिक परिवर्तनका कारण जनयुद्धमा ढिलाइ भएको खुलासा गरे । जनयुद्धलाई निरन्तरता दिँदा धेरै जनता मर्ने र राज्यलाई आर्थिक क्षेत्रमा समेत ठूलो घाटा लाग्ने भएकाले आफूहरु शान्ति प्रक्रियामा आएका हौँ,’ उनले भने ।
समाजको आर्थिक, राजनीतिक, सामाजिक, मनोवैज्ञानिक, सांस्कृतिक परिवर्तनका लागि जनयुद्ध सुरु भएको स्पष्ट पार्दै अध्यक्ष प्रचण्डले जनयुद्धको सकारात्मक तथा नकारात्मक पक्षलाई केलाउन, यसलाई राम्रोसँग बुझ्न र यसका बारेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कोणबाट हेर्न जरुरी रहेको समेत बताए ।
‘मुलुकलाई शान्ति प्रक्रियामा ल्याउन पत्रकारको ठूलो भूमिका’
यस्तै, अध्यक्ष प्रचण्डले मुलुकलाई शान्ति प्रक्रियामा ल्याउन पत्रकारको ठूलो भूमिका रहेको बताए । ‘मुलुकलाई शान्ति प्रक्रियामा ल्याएर गणतन्त्र ल्याउन नेपाली पत्रकारिताले ठूलो भूमिका निर्वाह गरेकोे छ,’ उनले भने ।
अध्यक्ष प्रचण्डले पत्रकार सुधीर शर्माद्वारा लिखित ‘प्रयोगशाला’ र प्रशान्त झाद्वारा लिखित ‘गणतन्त्र’ राजनीतिक विश्लेषणात्मक पुस्तक भए पनि मगरद्वारा लिखित ‘अंश’ राजनीतिक र पत्रकारिताको विवरणात्मक पुस्तक भएको धारणा व्यक्त गरे ।
नेपाल पत्रकार महासंघका अध्यक्ष डा महेन्द्र विष्टले जनयुद्धलाई समेटेर धेरै पुस्तक लेखिए पनि मगरद्वारा लिखित पुस्तक सरल, सहज र पठनीय भएको बताए ।
पत्रकार नारायण वाग्ले, युवराज घिमिरे, गुणराज लुइँटेल लगायतले मगरले आफ्नै मिहेनतमा लेखेको यो पुस्तकले सशस्त्र द्वन्द्वको घटनालाई यथार्थ चित्रण गरेको बताउँदै आगामी दिनमा पनि पत्रकार मगरलाई नयाँ पुस्तक लेख्न आग्रह गरे ।
पत्रकार मगरले माओवादी सशस्त्र द्वन्द्व र पत्रकारितामा आफूले भोगेका भोगाइलाई पुस्तकमा समेट्न खोजिएको जानकारी दिए ।
उक्त पुस्तकमा लेखक मगरले दरबार–माओवादी भेटघाट, राजा ज्ञानेन्द्रप्रति माओवादीको नरम नीति, गोरखा जेल ब्रेकको झुटो रिपोर्टिङ, गिरिजाप्रसाद कोइराला सरकार किन ढल्यो, कृष्ण सेन दोस्रोपटक किन पक्राउ परे, महरा पटकपटक मारिए, कृष्णभिर आक्रमणको सिडी, दीपेन्द्रको सगरमाथा, लेख्न नसकिएको समाचार, बाह्रबुँदे सहमति र बढ्दो माओवादी गतिविधि लगायतका बिषयवस्तुलाई समावेश गरिएको छ ।












प्रतिक्रिया