
काठमाडौं, ५ असार । स्थानीय तहको दोस्रो चरणको निर्वाचनलाई बिथोल्न विभिन्न संघर्षका कार्यक्रम सार्वजनिक गरेको राष्ट्रिय जनता पार्टी नेपालले आफूलाई एक्कासि ‘नरम’ बनाएको छ ।
राजधानीमा उपलब्ध राजपा नेपालका शीर्ष नेता र केन्द्रीय आन्दोलन परिचालन समितिको आइतबार बेलुका बिजुलीबजारमा बसेको संयुक्त बैठकले आफ्ना आन्दोलनका कार्यक्रममा फेरबदल गर्दै ‘नरम’ नीति अख्तियार गर्ने निर्णय गरेको हो ।
तराईहरूको आन्दोलन संशोधन भएको हो भन्ने जिज्ञासामा राजपाका नेता केशव झाले भने, ‘विभिन्न कारणले आन्दोलनमा थोरै मात्र संशोधन भएको छ । बीचमा ईद पर्व परेको छ । जनतालाई धेरै सास्ती दिनु हुँदैन भनेर कार्यक्रममा सामान्य संशोधन गरेका हौँ । यसको अर्थ हामीले आन्दोलन छाडेको वा कमजोर बनाएको होइन । आन्दोलन झन् सशक्त रुपमा अगाडि बढ्छ ।’
यद्यपि, राजपा नेपालले संविधानको संशोधन, मुद्दा फिर्ता, शहिद घोषणा, अपाङ्गहरूलाई क्षतिपूर्ति र जनसंख्याको आधारमा स्थानीय तहको संख्या निर्धारण नभएसम्म आन्दोलन जारी रहने स्पष्ट पारेको छ ।
राजपा नेपालको संशोधित कार्यक्रम अनुसार असार ५ र ६ गते उम्मेदवारी दर्ता गरेका उम्मेदवारहरूलाई उम्मेदवारी फिर्ता लिन जनदवाव दिने र टोल टोलमा कालो झण्डा फहराउने, ७ देखि ९ गतेसम्म निर्वाचन सम्वन्धी सबै गतिविधि र कार्यक्रमहरू अवरुद्ध गर्ने, असार १० गते प्रत्येक जिल्लाको सदरमुकाममा अन्तरक्रिया गर्ने, ११ गते माटरसाईकल र्याली र असार १२ र १३ गते ईद पर्वमा शुभकामना आदान प्रदान कार्यक्रम राखिएको जारी विज्ञप्तिमा उल्लेख छ । यसअघि असार १२ र १३ गते तराई बन्दको आह्वान गरिएको थियो ।
राजपा नेपालले असार १४ गते भने मधेस र थरुहट बन्द तथा आमहडतालको कार्यक्रम यथावत राखेको जनाएको छ ।
राजपा नेपालका स्थानीय नेता तथा कार्यकर्ताले विभिन्न जिल्लाहरूमा विद्रोह गरेर स्वतन्त्र रुपमा स्थानीय तहको निर्वाचनमा मनोनयन दर्ता गरेपछि दबाबमा परेका नेताहरूले कार्यक्रमलाई ‘नरम’ बनाएको एक नेताले बताए ।















प्रतिक्रिया