१ कार्तिक २०८३, आइतबार

जंगीअड्डामा पूर्व सेनापतिहरुको भेला, चुनावविरोधी राजपा रोक्न बन्यो यस्तो रणनीति

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ असार । प्रधानसेनापति राजेन्द्र क्षत्रीले विखण्डकारी तथा राष्ट्रिय अस्थिरता पैदा गर्ने तत्वलाई सेनाले नछाड्ने चेतावनी दिएका छन् ।

आइतबार सैनिक मुख्यालय जंगीअड्डामा पूर्व प्रधानसेनापतिहरु तथा वहालवाला एवं पूर्व रथीवृन्दको भेलामा देशको वर्तमान सुरक्षा स्थितिबारे चर्चा गर्दै सेनापति क्षत्रीले तरल परिस्थितिको फाइदा उठाउँदै केही विखण्डकारी तथा राष्ट्रिय अस्थिरता पैदा गर्ने तत्वहरु सक्रिय हुँदै आएको हुँदा यसको समाधान राजनीतिक तहबाट नै हुनुपर्ने र संविधानले निर्दिष्ट गरेको आफ्नो जिम्मेवारी पूरा गर्न नेपाली सेना कदापी पछि नहट्ने बताए ।

चुनाव बहिष्कारको घोषणासँगै राष्ट्रिय जनता पार्टी आन्दोलनमा होमिएपछि बसेको बैठकमा प्रधानसेनापतिले राष्ट्रिय अस्थिरता पैदा गर्ने तत्वहरुमा राजपाका नेतालाई संकेत गरेका थिए ।

क्षत्रीले नेपाली सेनाको समयसापेक्ष सुदृढिकरण तथा क्षमता विकासको लागि हाल भइरहेका गतिविधिहरुबारे संक्षिप्त जानकारी गराएका थिए ।

साथै समयसापेक्ष नेपाली सेनाको सुदृढिकरण तथा क्षमता विकास गर्ने क्रममा सांगठनिक संरचनालाई व्यवहारिक तथा थप प्रभावकारी बनाउने उद्देश्यले प्रस्तावित संशोधित पुनर्ढाँचा नेपाल सरकारबाट स्वीकृत भई लागू भईसकेको र संगठनको दक्षता विकासका लागि आवश्यक साधन तथा स्रोतको व्यवस्थापन भईरहेको तथा अत्यावश्यक सैनिक सामाग्रीको लागि नेपाली सेनालाई आत्म निर्भर बनाउने प्रयास भईरहेको पनि जानकारी गराईएको थियो ।

सो कार्यक्रममा वर्तमान सुरक्षास्थितिको विश्लेषण, नेपाली सेनाबाट भइरहेका गतिविधि, नेपाली सेनाको वर्तमान संगठन संरचना तथा कल्याणकारी गतिविधीबारे पनि जानकारी गराईएको थियो ।

उक्त अवसरमा पूर्व प्रधान सेनापति र रथीबृन्दहरुले राष्ट्रिय सुरक्षा तथा समसामयिक विषयमा धारणा राखेका थिए । बलाधिकृत रथी बलदेवराज महतले उक्त कार्यक्रमको समापनको क्रममा प्रधान सेनापति लगायत पूर्व प्रधान सेनापतिहरु एवं बहालवाला तथा पूर्व रथीवृन्दको उपस्थिति तथा सह्रानिय राय सुझावहरुको लागि धन्यवाद व्यक्त गरेका थिए ।

सो कार्यक्रममा पूर्वप्रधान सेनापतिहरु तथा बहालवाला एवं पूर्व वरिष्ठ रथीवृन्दको उपस्थिति रहेको थियो ।