भैरहवा, ४ असार । राजपाले चुनाब बहिस्कार गर्ने भनेर घोषणा गरिरहेको बेला रुपन्देहीमा सो दलमा आवद्ध नेताहरुले स्वतन्त्र रुपमा उमेदवारीको मनोनयन गरेको देखिएको छ ।
सिद्धार्थनगर पालिकाका उपमेयर पदमा राजपाका जिल्ला स्तरीय नेता रामअबध गुप्ताले उमेदवारी मनोनयन दर्ता गरेका छन् । सद्भावना पाटिका जिल्लाका पुर्व सचिव गुप्ता राजपाका जिल्ला तहका नेता हुन् । उमेदवारी मनोनयन गरेपछि सन्चारकर्मीसंग संक्षिप्त प्रतिक्रिया दिदैं उनले भने ‘हिजो सांझसम्म हामी आन्दोलनको मोर्चामा थियौं । अब आम नेपालीले निर्वाचन चाहेको देखियो । राजनीति गर्ने जनताको लागी हो । त्यसैले तत्काल पार्टीले लिएको अडान ठीक छैन । मैले स्वतन्त्र रुपमा उमेदवारी दिएको छु । आशा छ जनताले मलाई उपमेयरमा मत दिनुहुनेछ ।‘
यता राजपाका वरिष्ठ नेता सवेन्द्रनाथ शुक्लाको घरबास भएको क्षेत्र समरीमाई मर्चवारमा पनि राजपाका नेताहरुले स्वतन्त्र रुपमा अध्यक्ष देखी वडा सदस्यसम्म प्यानल नै बनाएर उमेदवारी मनोनयन गरेका छन् । राजपाका नेता अशोक शुक्ला समरीमाइ गाउँपालिकाको अध्यक्ष र कलाउद्धिन शेष उपाध्यक्ष सहित वडाका सबै पदमा उमेदवारी दिएका हुन् ।
५ नम्बर प्रदेशको निर्वाचन बहिस्कार कार्यक्रमलाई प्रभावकारी बनाउने भनेर हिजो सांझ मात्रै भैरहवामा आयोजित विरोध सभा राजपाका नेता राजेन्द्र महतो, अनिल झा लगायतले कुनैपनि हालतमा निर्वाचन गर्न नहुने र निर्वाचनमा भाग नलिन जनतालाई आग्रह गरेका थिए । तर राजपाकै नेता कार्यकर्ताले स्वतन्त्र रुपमा उमेदवारी दर्ता गर्न थालेपछि उनीहरु चिन्तित भएका छन् । स्रोतका अनुसार महतो सहितका नेताहरु अहिले पनि भैरहवामा नै रहेका छन् ।
















प्रतिक्रिया