काठमाडौं, ३ असार । सार्वजनिक मुद्दामा पक्राउ परेका पत्रकारद्धय खेम भण्डारी र गणेश भट्टको रिहाईका लागि नेपाल पत्रकार महासंघ सुदूरपश्चिम क्षेत्रीय समितिले पहल थालेको छ ।
यसक्रममा क्षेत्रीय संयोजक प्रकाशविक्रम शाह नेतृत्वको टोलीले शनिबार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहर खनाललाई भेटी तत्काल रिहाईका लागि पहल गरिदिन आग्रह गरेको छ ।
क्षेत्रीय समितिले पत्रकार पक्राउ गर्ने कदमको निन्दा समेत गरेको छ ।
यस्तो छ क्षेत्रीय समितिको विज्ञप्तीः
कन्चनपुरको महेन्द्रनगरबाट प्रकाशित दैनिक मानसखण्डका सम्पादक खेम भण्डारी र कार्यकारी सम्पादक गणेश भट्टलाई सार्वजनिक अपराध गरेकाले अनुसन्धानको शिलशिला भन्दै प्रहरीले पत्रिकाको कार्यालयबाटै नियन्त्रणमा लिनु पत्रकार विरूद्धको ज्यादती, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता बिपरित कार्य हो ।
भण्डारी र भट्टलाई तत्काल रिहा गर्न नेपाल पत्रकार महासंघ सुदुरुपश्चिम क्षेत्रीय समन्वय समिति जोडदार माग गर्दछ । पत्रिका नै बन्द गर्ने गरी सम्पादक र कार्यकारी सम्पादकलाई गिरफ्तार गरेर सरकार पूर्ण रूपमा स्वतन्त्र प्रेस नियन्त्रण गरी निरंकुशतातिर उन्मुख भएको छ । सरकारको यो रवैयाप्रति पत्रकार महासंघ सुदूपश्चिम घोर निन्दा गर्दछ ।
उहाँहरूको रिहाईका लागि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसँग पहल गरिरहेका छौ । यदि तत्काल रिहा नगरेको खण्डमा आमपत्रकारहरु जुनसुकै कदम उठाउन तयार रहन सम्पूर्ण पत्रकारहरुलाई आव्हान गरिन्छ ।
प्रकाशविक्रम शाह
केन्द्रीय सदस्य तथा सुदूरपश्चि संयोजक
मिति २०७४ । ०३ । ०३













प्रतिक्रिया