धरान, ३ असार । नेकपा (एमाले) धरानका उपसचिव धनप्रसाद राईको निधन भएको छ । ५५ वर्षीय राईको ‘मर्निङवाक’ गर्दागर्दै शनिबार बिहान बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अगाडि मृत्यु भएको हो ।
धरान १८ का पूर्ववडाध्यक्ष समेत रहेका राई मर्निङवाक निस्केका बेला घर नजिकै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रवेशद्वार नजिकै बिहान चार बजे ढलेका थिए । बाटोमा ढलेको देखेपछि स्थानीय बासिन्दाले उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याए । जहाँ उनलाई चिकित्सकले मृत घोषणा गरे । राई सुगर र प्रेसरका बिरामी थिए ।
जिल्ला खेलकुद विकास समिति सुनसरी अध्यक्ष समेत रहेका राई केही वर्षको कोरियाको रोजगारीबाट फर्केर पछिल्लो समयमा स्थानीय तहको चुनावमा पार्टी काममा व्यस्त थिए । उनले २० वर्षपछि हुन लागेको चुनावमा भोट हाल्ने योजना बनाएका थिए । अब उनको सपना अधुरै रह्यो । राईका श्रीमती र दुई छोरी छन् ।












प्रतिक्रिया