क्वालालम्पुर, ३ असार । मलेसियामा रहेका सामाजिक तथा राजनीतिक संघ संगठनका अगुवामाथि ठगीको आरोप लगाइएको छ ।
गैह्र आवासीय नेपाली संघ मलेसियाका अध्यक्ष बिश्व राई, गैह्र आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिका सदस्य खगेन्द्र न्यौपाने, माओवादी केन्द्र निकट जनप्रगतिशील मञ्च मलेसियाका अध्यक्ष प्रेम पाण्डे र प्रवासी नेपाली मञ्चका केन्द्रीय सदस्य मोहन घिमिरेमाथि ठगीको आरोप लागेको हो ।
टेकबहादुर घले नामका एक ब्यक्तिले उल्लेखित ४ जना अगुवाहरुले आफू लगायत नेपालीहरुमाथि ठगी गरेको आरोप लगाउदै मलेसियास्थित नेपाली राजदूतावासमा उजुरी हालेका छन् ।
उता घलेले लगाएको आरोप कपोकल्पित र भ्रामक भन्दै चारै जना अगुवाहरुले ठाडै अस्वीकार गरेका छन् । राजदूतावासमा हालिएको उजुरीमा कांग्रेस निकट जनसम्पर्क समिति मलेसियाका महामन्त्री योगेन्द्र कोइरालाले हस्ताक्षर गरी ठगी गर्नेहरुमाथि कारवाहीको माग गरेका छन् । ठगीको आरोप लगाउने घले जनसम्पर्क समिति मलेसियाका केन्द्रिय सदस्य हुन् । घलेले गरेको उजुरीमा विभिन्न कम्पनीमा आबद्ध रहेका नेपाली श्रमिकलाई अवैधानिक बनाएर सेक्युरेटी कम्पनीमा काम लगाइदिने, भिषाको प्रक्रिया थाल्ने तथा वैधानिक बनाईदिने भन्दै मोटो रकम असुल्ने गरेको आरोप छ ।
गैह्र आवासीय नेपाली संघ मलेसियाका अध्यक्ष बिश्व राईले आरोप अस्वीकार गर्दै कांग्रेसनिकट जनसम्पर्क समिति र पीडित भनिएका टेक बहादुर घर्तीले आफ्नो व्यक्तिगत रिसईबी साध्ने उद्देश्यले राजदूतावासमा आफूहरु बिरुद्ध उजुरी गरेको प्रतिक्रिया दिएका छन् । घर्तीले हालेको आरोपसहितको उजुरी गलत रहेको राई बताउंछन् । अध्यक्ष राईले गैह्र आवासीय नेपाली संघको नाम मुछेर अनर्गल प्रचार गरिएको बताए ।
स्रोतका अनुसार पीडित भनिएका टेकबहादुर घले स्वयं मलेसियामा एजेन्ट काम गर्ने गरेको बुझिएको छ । राजदूतावासमा निवेदन दिएको भोलीपल्ट नै उनी नेपाल फर्केका छन् । घले पीडित नै नभएको आरोपितहरुले प्रतिक्रिया दिएका छन् । गैर आवसिय नेपाली संघका खगेन्द्र न्यौपानेले आफूले नियमसंगत काम गरेको र आवश्यक परे प्रमाण पेश गर्न सक्ने बताए । कसैको उक्सावाटमा दूतावासमा हालिएको उजुरी मिथ्या भएको न्यौपानेको प्रतिक्रिया छ ।
नेपाली जनप्रगतिशील नेपाली मञ्च मलेसियाका अध्यक्ष प्रेम पाण्डेले आफूहरुलाई नियोजित रुपमा फसाउन खोजिएको बताए । त्यसको नेतृत्व नेपाली कांग्रेस जनसम्पर्क समिति मलेसियाले गरेको पाण्डेको आरोप छ । आरोप प्रमाणीत गर्न नसके जनसंम्पर्क समितिले यस्को जिम्मा लिनुपर्ने पाण्डेको अडान छ । कोही कसैको उक्सावटमा आफ्नो मानहानी गरिएको पाण्डेले आरोप लगाए ।
यस्तै प्रवासी नेपाली मञ्च मलेसियाका केन्द्रीय सदस्य मोहन घिमिरेले यस सम्बन्धमा आफू संलग्न नभएको प्रतिक्रिया दिएका छन् । आफूजस्तो सामान्य मान्छेलाई यसखाले गलत आरोप लगाईएको भन्दै नेपाली कांग्रेस सम्बद्ध जनसंम्पर्क समितिले यस्को जवाफ दिनुपर्ने घिमिरेले बताए ।
यस बारेमा घिमिरेले राजदूतावासमा जवाफी निवेदन दिएका छन् । मलेसियास्थित नेपाली दूतावासले घटनाबारे छानविन गर्ने जानकारी दिएको छ । आफूहरुबिरुद्ध राजदूतावासमा ठगीको आरोप लागेपछि गैह्र आवासीय नेपाली संघ मलेसियाको आकस्मिक बैठकले संघका सदस्य समेत रहेका योगेन्द्र कोइराला कांग्रेसको भातृ संस्थामा सक्रिय भएको भन्दै एक हप्ताभित्र राजीनामा दिन समय दिएको छ । अन्यथा संघको सदस्यता स्वतह खारेज हुने समेत बैठकको निर्णय छ ।
















प्रतिक्रिया