१५ कार्तिक २०८३, आइतबार

मानव अंग प्रत्यारोपण केन्द्रलाई स्थान अभाव

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, ३ असार । स्थान अभावले गर्दा मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरमा बिरामीको उपचारमा समस्या भएको छ । नयाँ आउने बिरामीको उपचार गर्नसमेत कठिनाइ भएको अस्पतालले जानकारी दिएको छ । गोरखापत्र दैनिकले समाचार छापेको छ ।

अङ्ग प्रत्यारोपण गर्न सरकारले चार वर्षअघि स्थापना गरेको केन्द्रमा हाल दैनिक दुई सयभन्दा बढी बिरामी आउने गरेका छन् । केन्द्र स्थापनाकालमा दैनिक २० देखि ३० जना बिरामी आउने गरेकामा अहिले त्यसको १० गुणा बढी बिरामी केन्द्रमा पुग्ने गरेका छन् ।

मानव अङ्ग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा। पुकारचन्द्र श्रेष्ठले स्थान अभावकै कारण उपचारमा समस्या उत्पन्न भएको जानकारी दिनुभयो ।

सरकारी अस्पताल भएकाले मिर्गौला प्रत्यारोपण तथा डाइलासिसमा सबैभन्दा गुणस्तरीय र उत्कृष्ट सेवाको कारणले बिरामीको चाप बढी भएको भन्दै कार्यकारी निर्देशक डा. श्रेष्ठले थप्नुभयो, “बिरामीको चापले गर्दा अब प्रत्यारोपण र डायलासिसमा समस्या भइरहेको छ । ”

उहाँले भन्नुभयो, “हामी नयाँ बिरामीका लागि डायलासिस गर्नसक्ने अवस्थामा छैनौँ । एउटा भवनमा मिर्गौलाको उपचार सेवा थालनी गरेको अस्पतालले पछिल्लो समय मुटुरोग, युरोलोजी तथा लिभरको समेत उपचार गरिरहेको छ । ”

“ओपन हार्ट सर्जरी (मुटुको भल्ब फेर्ने), फोक्सोको शल्यक्रिया र मिर्गौला रोगका बिरामीको चाप अत्यधिक भएकाले अब यही अवस्थामा केन्द्रले बिरामीको भार थेग्न सक्दैन”, श्रेष्ठले भन्नुभयो, “सरकारले केन्द्रलाई विस्तार नगरे अब उपचार दिनसक्ने अवस्था छैन । ”

अस्पतालकी वरिष्ठ नेफ्रोलोजिस्ट डा. कल्पनाकुमारी श्रेष्ठले आर्थिक वर्ष २०६९/७० मा पैसा तिरेर डायलासिस गर्नेको सङ्ख्या १३ सय ३७ रहेकोमा आर्थिक वर्ष २०७३/०७४ मा दुई हजार ९४७ रहेको जानकारी दिनुभयो । चार वर्षअघि दुई हजार १९ निःशुल्क डायलासिस भएकोमा गत वर्ष त्यो सङ्ख्या बढेर २३ हजार तीन सय ५१ पुगेको जानकारी दिनुभयो ।

चार वर्षअघि १३ हजार एक सय ४७ पटक ल्याब परीक्षण भएकोमा गत वर्षमात्र ल्याब परीक्षण गराउनेको सङ्ख्या बढेर एक लाख पाँच हजार चार सय

२९ पुगेको छ । डा श्रेष्ठले अस्पतालमा स्थान अभावमात्र नभई जनशक्तिसमेत अभाव रहेको जानकारी दिनुभयो ।