बाजुरा, २ असार । जिल्ला निर्वाचन कार्यालयमा निर्वाचन आचार संहिता उल्लङनका तीन वटा उजुरी परेका छन् । सरकारी कर्मचारीले आफ्नो मर्यादा र कर्तव्य बेगर आचार संहिता विरुद्धका तीन वटा उजुरी परेको जिल्ला निर्वाचन अधिकारी सुभद्रा शर्मा गौतमले जानकारी दिईन् ।
निर्वाचनको तयारी र कार्यालयले सञ्चालन गरिरहेका गतिविधि बारे जानकारी दिन निर्वाचन अधिकारीको कार्यालयमा पत्रकार सम्मेलन गरी शर्माले उजुरी बारे जानकारी गराएकी हुन् ।
उजुरी काँडा मावि काँडामा कार्यरत शिक्षक जनक सिंह, जुगाडा स्वास्थ्य चौकीमा कार्यरत देवराज पण्डित र किर्तिचौर मावि मानाकोटमा कार्यरत शिक्षक भीमबहादुर रोकाया, हर्क रोकाया र रणबहादुर रोकायाका विरुद्ध परेको हो ।
तीन वटै उजुरी नेपाली काँग्रेस समर्थक भएर काम गरेको र प्रचार प्रसारमा संलग्न भएको व्यहोरा उल्लेख गरिएको छ । कार्यालयमा परेका ती वटै उजुरी सरकारी सेवासँग संलग्न व्यक्तिहरुको नाम जोडिएको शर्माले बताईन ।
उजुरी पत्रसहित प्रचारमा संलग्न फोन र अन्य गतिविधि समेतको व्यहोरा उल्लेख गरिएको इन्सेक बाजुरा प्रतिनिधि पदम सिंहले जानकारी दिए । काँडा मावि काँडामा कार्यरत शिक्षक जनक सिंह लामो समयदेखि विद्यालयमा नबसी काँग्रेसको प्रचारमा हिँडेको, विद्यालयमा नपढाएको बताईएको छ ।
यस्तै देवराज पण्डितले बच्चालाई खोप सेवा दिँदै गर्दा नेपाली काँग्रेसको रुख चिन्ह्को छाप भएको टिसर्ट प्रयोग गरेको र प्रचारमा हिँडेको उजुरी पत्रमा उल्लेख छ । भने किर्तिचौर मावि मानाकोटमा कार्यरत शिक्षक भीमबहादुर रोकाया, हर्क रोकाया र रणबहादुर रोकाया पनि प्रचारमा हिँडेको बताईएको छ ।
शिक्षक, सरकारी तथा सामुदायिक संस्थाका कर्मचारी र सार्वजनिक पद धारण गरेका व्यक्तिहरुले कुनै पनि दलको प्रचार गर्न नहुने आचार संहितामा उल्लेख गरिएको छ । आचार संहिता उल्लङ्न गरेको पुष्टी भए कानुन अनुसार कारवाही हुने शर्माले पत्रकार सम्मेलनमा जानकारी दिईन् ।
शर्माका अनुसार १० गते भित्र ७० वटै मतदान स्थलमा सबै कर्मचारी पुगि सक्ने र ११, १२ र १३ गते मतदाता परिचय पत्र वितरण गरिने छ । परिचय पत्र सम्बन्धीत व्यक्ति वा राजनीतिक दलका नेताहरुसँगको सहमतिमा घर मुली बाहेक अरुलाई नदिने प्रावधान रहेको छ ।
कर्मचारीका लागि ३ गतेदेखि ७ गतेसम्म दुई चरणमा तालिम सञ्चालन हुने छ । भौगोलिक दुर्गमताका कारण छिटै कर्मचारी पठाउनु पर्ने शर्माले बताईन् । जिल्लामा नौ वटा स्थानीय तह छ । चार नगरपालिका र पाँच गाउँपालिका गरी ६४ हजार ९ सय ५० जना मतदाताले निर्वाचनमा भाग लिन पाउने छन् ।













प्रतिक्रिया