१५ कार्तिक २०८३, आइतबार

एमाले कार्यकर्ता हत्यामा संलग्नलाई छाड्ने न्यायाधीशलाई कारबाहीको माग

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ असार । दोलखाको जुँगुमा हत्या गरिएका कुलबहादुर तामाङको परिवारले घटनामा संलग्न व्यक्तिलाई छाडिएको भन्दै न्यायाधीशमाथि कारबाहीको माग गर्दै न्यायपरिषद्मा निवेदन दिएका छन् ।

जिल्ला अदालतका न्यायाधीश लालकाजी श्रेष्ठले हत्या अभियोगमा पक्राउ परेकाले साबिती बयान दिए पनि सामान्य तारेखमा छाडेको भन्दै पीडित परिवारले उनलाई कारबाहीको माग गर्दै निवेदन दिएका हुन् ।

मृतकका बाबु गोरे तामाङ र श्रीमती साङमाया तामाङले संयुक्त रूपमा परिषद्मा निवेदन दर्ता गराएका छन् । स्थानीय तहको निर्वाचनका क्रममा गत २६ वैशाखमा माओवादी केन्द्रका कार्यकर्ताले गौरीशंकर गाउँपालिका–१ जुँगुमा तामाङको हत्या गरेका थिए ।

पीडित परिवारले हत्यामा संलग्न मुख्य अभियुक्त देवी खड्का र विशाल खड्कासहित ४० जना अभियुक्त पक्राउ नपर्दा र जिल्ला अदालत दोलखाका न्यायाधीश श्रेष्ठले अभियुक्तहरूले आक्रमणमा संलग्न रहेको साबिती बयान दिँदासमेत साधारण तारेखमा छाडेपछि न्यायको खोजीमा काठमाडौं आइपुगेको निवेदनमा उल्लेख गरेका छन् ।

जुँगु हत्याकाण्डमा संलग्नमध्ये एन्ड्रिज कार्की, सुरेश कार्की, प्रेम तामाङ, गोपाल तामाङ, नीलम जिरेल, प्रेमबहादुर तामाङलगायतका नौजनालाई प्रहरीले पक्राउ गरेको थियो ।

उनीहरूले घटनामा आफूहरूको संलग्नता स्वीकार गरे पनि विनाकारण न्यायाधीश श्रेष्ठले छाडेको जिकिर गरेका छन् । ‘जिल्ला अदालत दोलखाका न्यायाधीश लालकाजी श्रेष्ठज्यूको इजलासले कर्तव्य ज्यानजस्तो जघन्य अपराधमा संलग्न अभियुक्तहरूलाई साधारण तारेखमा छाड्ने आदेश गरेको कुराले हामी अत्यन्तै मर्माहत बनेका छौँ,’ निवेदनमा उल्लेख छ ।