काठमाडौं, १ असार । निर्वाचन विरोध गतिविधि गरेर आलोचना खेप्दै आएको राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले अहिले आफ्नो ‘प्रहार’ विजयकुमार गच्छदार र उपेन्द्र यादवमाथि सुरु गरेका छन् ।
राजपाका नेताहरूले आफ्ना अभिव्यक्ति पिच्छे उपेन्द्र र विजयलाई गाली गरेर आत्मसन्तुष्टि लिने गरेको आरोप छ । विजयकुमार गच्छदार र उपेन्द्र यादवले राजपाका नेता तथा कार्यकर्ताहरूलाई आफ्नो पार्टीमा भित्र्याउन थालेपछि राजपा नेपालको नेतृत्व रिसाएको हो । अझ राजपा नेपालका नेताहरू व्यक्तिगत गालीगलौजमा उत्रिएको आरोप पनि छ । तर, राजपाका नेताहरूले जस्तो उपेन्द्र र विजयले व्यक्तिलाई गाली गरेर अभिव्यक्ति दिएका छैनन् ।
मधेस मामिलाका जानकार एकजना पत्रकार भन्छन्, ‘संगठनको हिसाबमा अहिले राजपाभन्दा उपेन्द्र यादव र विजयकुमार गच्छदारका पार्टीहरू नै बलिया छन् ।’ हुन् पनि यी दुई पार्टीले लोकतान्त्रिक पद्धतिको कहिल्यै बिरोध गरेका छैनन् । बरु उपलब्धिलाई संस्थागत गर्न धेरै कुरामा ब्याक पनि भएका छन् ।
सप्तरी पूर्वका जिल्लामा संघीय फोरम र फोरम लोकतान्त्रिकको दब्दबा छ । त्यहाँ राजपाको संगठन अत्यन्तै कमजोर रहेको बताइन्छ । यस्तै अवस्था पर्सादेखि पश्चिमतिर छ । रुपन्देही, कपिलवस्तु र नवलपरासीमा राजपाको झिनो संगठन रहेको बताइन्छ ।
सप्तरी पूर्वका जिल्लामा राजपाको उपस्थिति नामका लागि मात्र रहेकोे कांग्रेस, एमाले माओवादी केन्द्रका नेताहरू बताउँछन् ।
आन्दोलन घोषणा गरेर समर्थकलाई सडकमा उतारे पनि राजपा नेपालको नेतृत्वले अहिलेसम्म आन्दोलन र चुनावको रणनीतिबारे आफ्ना नेता कार्यकर्तालाई स्पष्ट पार्न नसकेको आरोप पनि लाग्न थालेको छ ।
अझै रोचक त के छ भने स्थानीय तहको निर्वाचनमा सहभागी हुन् र उम्मेवार बन्न राजपा नेपालका चर्चित नेताहरूले धमाधम पार्टी छाडेर टिकट पाइने दलमा प्रवेश गरिरहेका छन् । सप्तरीका चर्चित पत्रकार एवम् राजेन्द्र महतोका निकटका मानिने नेता हेमशंकर सिंह एमालेमा प्रवेश गरेर उपप्रमुखको टिकट नै पाइसकेका छन् । यस्ता उदाहरण थुप्रै छन् ।
राजपा नेपाल छाडेर धमाधम अरु दलमा प्रवेश गर्न थालेपछि राजपाका नेताहरू भित्रभित्रै डराएका छन् । उनीहरूले अब आफ्नो रणनीति नबदल्ने हो भने राजनीतिक रुपमा झन् घाटा लाग्ने नेताहरूको भनाइ छ ।
क्षणिक रुपमा राजपा नेपालका कार्यकर्ताहरूले मध्य तराईका केही जिल्लामा निर्वाचन कार्यक्रम विथोलेर अराजकता मच्चाए पनि बास्तवमा राजपा नेपालभन्दा उपेन्द्र र विजयकै पार्टीहरूको पकड रहेको राजनीतिक विश्लेषकहरू पनि बताउँछन् ।











प्रतिक्रिया