२१ कार्तिक २०८३, शनिबार

शिवराजको मेयरमा स्वतन्त्रबाट जमशेर अलिको उम्मेदवारी

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सीताराम चौधरी

चन्द्रौटा(कपिलवस्तु), ३१ जेठ । चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष जमशेर अली मियाँ स्वतन्त्रबाट शिवराज नगरपालिकाको मेयर पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।

चन्द्रौटा उद्योग वाणिज्य संघको प्राङ्गणमा वृहत कार्यक्रमका बीच पत्रकार सम्मेलन गरी अलि मियाँले स्वतन्त्र उम्मेदवारको घोषणा गर्नुभएको हो । नेपाली कांग्रेसका क्रियाशील सदस्य रहेका मियाँ काँग्रेस टिकटको आश्वासन देखाएर उपेक्षा गरेको उहाँको आरोप छ । जनताको भावना र चाहना बमोजिम आफूले शिवराज नगरभित्रको गरीबी, अशिक्षा र बेरोजगारी समस्या समाधानको लागि उम्मेदवारी दिएको बताउनुभयो । पत्रकार सम्मेलनको अवसरमा उनले शिक्षा, स्वास्थ्य, रोजगार, शान्ति सुरक्षा, विकास निर्माण लगायत समृद्ध नगर निर्माणको परिकल्पना गर्नुभएको छ ।

“सामाजिक सद्भाव, आर्थिक विकाससहितको उत्कृष्ट नगरको पहिचान, जनउत्तरदायी, भ्रष्टाचाररहित स्थानीय सुशासन मेरो अभियान” नारालाई अवलम्बन गर्दै ३४ बुँदे प्रतिबद्धता पत्र जारी गर्नुभएको छ । प्रतिबद्धता पत्रमा उहाँले शिक्षा, स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्नुभएको छ । नगरभित्र सुविधासम्पन्न स्नातकोत्तरसम्मको क्याम्पस तथा सुविधासम्पन्न अस्पतालको स्थापना गर्ने योजना अघि सार्नुभएको छ । कसैले अकालमै ज्यान गुमाउन नपरोस् भनेर प्रमुख केन्दविन्दु मानिने चन्द्रौटामा २ वटा, उत्तर शिवपुरमा १, पश्चिम शिवगढीमा १, दक्षिण जवाभारीमा १ र पूर्व खरेन्द्रपुरमा १ गरी ६ वटा एम्बुलेन्स र आगलागीका घटनालाई मध्यनजर गर्दै वारुण यन्त्रको व्यवस्था मिलाउने प्रतिबद्धता गर्नुभयो ।

यस्तै कृषकहरुलाई लक्षित गरी सिंचाई सुविधा, आधुनिक र व्यवसायिक कृषि प्रणालीमा जोड दिने योजना अघि सारेका छन् भने उद्योग कलकारखानाको स्थापना गरी प्रशस्त रोजगारीका अवसरहरु सिर्जना गर्ने समेत उहाँले जनाउनुभयो । बाटोघाटो, ढलनिकास, सरसफाईको उचित व्यवस्थापन गरी शिवराज नगरलाई एक सुन्दर, सफा र नमूना नगरको रुपमा अगाडि बढाउने लक्ष्यका साथ आफ्नो उम्मेदवारी दिएको उहाँले बताउनुभयो । आफ्नो जीतपछि पाँच वर्षभित्र यो नगरलाई एउटा सुन्दर र नमूनामय नगर बनाउने प्रतिबद्धता जनाउँदै नगरबासीहरुले हाम्रो नभई राम्रो मान्छेलाई छनौट गर्न अनुरोध गर्नुभयो ।

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसाल, पूर्वअध्यक्ष बसन्त गिरी, महासंघका सचिव हरि अधिकारी, कोषाध्यक्ष दिपक खड्का लगायत विभिन्न संचारमाध्यममा कार्यरत संचारकर्मीहरुको सहभागिता रहेको थियो ।