
काठमाडौं, ३१ जेठ । नेपाली कांग्रेसले दुई नं. प्रदेशबाहेकका सबै प्रदेशमा उम्मेदवारहरूको टुंगो लगाएको छ ।
ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा बुधबार बसेको पदाधिकारी र शीर्ष नेताहरूको बैठकले दुई नं. प्रदेशको उम्मेदवारको टुंगो बिहीबार लगाउनेछ । कांग्रेसको अर्को बैठक बिहीबार बिहान ९ बजेट सानेपामा बस्नेछ ।
कांग्रेसका अनुसार बिराटनगर महानगरपालिकाको मेयरमा कांग्रेसले भीम पराजुलीलाई टिकट दिएको छ ।
त्यसैगरी दाङको घोराही उपमहानगरपालिकाको मेयरमा भुपबहादुर डाँगीले टिकट पाएका छन् । उपमेयरमा पुष्पा श्रेष्ठले टिकट पाएकी छिन् ।
तुलसीपुर उपमहानगरपालिकामा मेयरको टिकट गेहेन्द्र गिरीले पाएका छन् भने उपमेयरमा देविका नेपालीले पाएकी छिन् ।
लमही नगरपालिकाको मेयरमा जोगबहादुर चौधरी र राप्ती गाउँपालिकाको प्रमुखमा लुमकान्त सुवेदीले टिकट पाएको कांग्रेसका सांसद राजु खनालले जानकारी दिए ।
टिकट पाएका सबै उम्मेदवारहरूलाई कांग्रेस केन्द्रीय कार्यालयले पत्रसहित उम्मेदवारी दिन पठाएको छ ।
टिकट पाउने अधिकांश उम्मेदवारहरू नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्का निकटका हुन् ।











प्रतिक्रिया