मुम्बई । अभिनेता रणवीर कपुरले बुबाले जस्तै मदिरा पिउने आदत नभएको भन्दै यस किसिमको आदत कहिल्यै नहुने दाबी गरेका छन् ।
प्रदर्शोन्मुख फिल्म ‘जग्गा जासुस’ को म्युजिक लन्चको अवसरमा संवाद दाताले उनलाई सोधेका थिए ‘बुबा ऋषि कपुरको कुन आदत तपाईंमा भेटिन्छ ? रणवीरले तुरुन्तै जवाफ दिए, ‘मेरो सराब पिउने आदत छैन र यो आदत कहिल्यै हुन्न पनि ।’
बुबासँगै पारिवारिक मान्यता सिकेको भन्दै उनले आमा बुबाको महत्व कहिल्यै नभुल्ने बताए । ‘म अहिले ३४ वर्षको छु । अब ३५ मा लाग्छु । बुबा आमाको रेखदेख गर्नु मेरो कर्तव्य हो,’ उनले भने ।
हजुरबा राज कपुरलाई पनि उनी दिनदिनै सम्झन्छन् । हजुरबा राजकपुरकै प्रेरणाले अभिनेता बनेको उनको भनाइ थियो ‘मलाई गर्व छ कपुर खान्दानको सदस्य हुन पाएकोमा,’ रणवीरको भनाइ थियो ।
उनलाई लाग्छ, उनको हजुरवा अहिले स्वर्गमा छन् । उनको प्रगति देखेर खुसी छन् ।
रणवीर चलचित्र ‘जग्गा जासुस’का निर्माता पनि हुन् । यस फिल्ममा उनकी पूर्वप्रेमी कट्रिना कैफले मुख्य भूमिका निर्वाह गरेकी छन् । पूर्वप्रेमिकासँग अभिनय गर्दाको अनुभूतिबारे गरिएको प्रश्नको उनले घुमाउरो जवाफ दिए ।
‘कट्रिनाकै कारण मैले अभिनय गरेका दुई फिल्म राजनीति र अजब प्रेमकी गजब कहानी हिट भयो । म अब उनको ऋण चुक्ता गर्न चाहन्छु ।’
उनलाई लाग्छ जुन फिल्ममा कट्रिना हुन्छिन् त्यो फिल्म सफल हुन्छ । उनले यो पनि दाबी गरे, ‘कट्रिनाजस्तो स्टार बलिउडमा कोही छैन । आउँदो १० वर्षमा उनले अरू दुई गुना सफलता हासिल गर्छिन् ।’ अनुराग बसुको निर्देशनमा बनेको चलचित्र ‘जग्गा जासुस’ १४ जुलाईमा रिलिज हुने भएको छ । – एजेन्सी















प्रतिक्रिया