ललितपुर, २९ जेठ । एमालेका महासचिव ईश्वर पोखरेलले स्थानीय तहको प्रमुख, उपप्रमुख र वडा अध्यक्ष जस्ता कार्यकारी पदमा जितेकाहरूले पार्टीको कार्यकारी पदबाट राजीनामा दिनुपर्ने नीति ल्याउन लागेको बताएका छन् ।
महासचिव पोखरेलले नवनिर्वाचित जनप्रतिनिधिहरूलाई पार्टीको कार्यकारी पदबाट राजीनामा दिनुपरे तयार रहन निर्देशन दिएका छन् ।
ललितपुरमा सोमबार प्रदेश नम्बर ३ बाट निर्वाचित महानगर, उपमहानगर र नगपालिका तथा गाउँपालिकाका प्रमुख र उपप्रमुखहरूलाई प्रशिक्षण दिन प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रममा पोखरेलले ‘एक व्यक्ति एक पद’को संकेत गरेका हुन् ।
महासचिव पोखरेलले भने, ‘जो–जो कमरेडहरू पार्टीको पनि कार्यकारी पदमा हुनुहुन्छ र अहिले स्थानीय तहको कार्यकारी पदमा निर्वाचित हुनुभएको छ, तपाईहरूले पार्टीको जिम्मेवारी अर्को कमरेडलाई सुम्पिएर जनताको काममा मात्र केन्द्रित हुनुपर्ने अवस्था आउन सक्छ । पार्टीले निर्णय गरिसकेको छैन तर, तयार रहनुस् ।’
पार्टी र जनप्रतिनिधिको काम दुवैतिर समय दिन नसकिने र पार्टीको प्रमुख नै नगर वा गाउँपालिका प्रमुख हुँदा उसलाई नियन्त्रण र सन्तुलन गर्ने निकाय पनि नहुने भएकाले जनप्रतिनिधिलाई पार्टीको मुख्य पदबाट बिदा गर्ने नीति एमालेले बनाउन लागेको हो ।
एमालेका जिल्ला अध्यक्ष, उपाध्यक्ष, सचिव र गाउँ तथा नगर कमिटीका धेरै पदाधिकारीहरू स्थानीय तहको प्रमुख उपप्रमुखमा निर्वाचित भएका छन् ।











प्रतिक्रिया