२१ कार्तिक २०८३, शनिबार

पूर्बप्रधानमन्त्री खनालले दिए जनप्रतिनिधिलाई सुझाव

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ जेठ । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले सम्पूर्ण शक्तिलाई एमालेको वरिपरि गोलबन्द गर्नुपर्ने आवश्यकता औल्याएका छन् ।

प्रदेश नम्बर तीनका स्थानीय तह (महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिका) का प्रमुख र उपप्रमुखलाई बधाई तथा शुभकामना दिन सोमबार एमाले प्रदेश कमिटीले ललितपुरमा आयोजना गरेको कार्यक्रममा उनले प्रगतिशील शक्तिलाई गोलबन्द गरेर जानुपर्ने आवश्यकता औल्याएका हुन् ।

५६ वर्ष लगाएर जनवादी क्रान्ति सम्पन्न भएको उल्लेख गर्दै खनालले अब समाजवाद केन्द्रित गतिविधि गर्नुपर्नेमा जोड दिए । ‘जनक्रान्तिले सामन्तवाद उखेल्यो र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो’ खनालले भने– ‘अब कसरी समाजवाद बन्छ भन्नेतर्फ आफ्नो गतिविधि केन्द्रित गर्नुपर्छ । शान्तिपूर्ण ढंगबाटै समाजवादमा पुग्न सकिन्छ ।’

एमालेको मुख्य प्रतिद्धन्द्धीता कांग्रेससँगै हुने तर्क गर्दै उनले पार्टीको कार्यदिशा, नीति र सिद्धान्त राम्रोसँग बुझेर जनताको पक्षमा काम गर्न सुझाव दिए । समाजवाद निर्माणको काम तल्लो तहबाटै सुरु गर्नुपर्ने भन्दै खनालले हरेक तहको विकासका लागि गुरुयोजना बनाएर अगाडि बढ्न निर्वाचित जनप्रतिनिधिहरुलाई सुझाव दिए । तीन खम्बे अर्थतन्त्रको विकास विना समग्र विकास सम्भव नभएको उनको तर्क छ ।

संविधानले दिएको अधिकारका सीमाभित्र रहेर विकासलाई अगाडि बढाउन समेत उनले सुझाव दिए । शिक्षा, स्वास्थ्य, संचार, पूर्वाधार, खेलकुद, मनोरञ्जन, सांस्कृतिक विकास, सरसफाई र फोहोरमैला व्यवस्थापनको बारेमा नयाँ ऐनअनुसार काम गर्न सुझाव दिँदै उनले दायित्व मात्र बढाउने कार्य नगर्न आग्रह समेत गरे ।

एमाले केन्द्रीय संसदमा प्रतिपक्षी दल भएपनि अधिकांश नगर र गाउँमा सत्ताधारी दल भएको खनालको तर्क छ । उनले जिल्ला, प्रदेश र केन्द्रसँग समन्वय गरेर काम गर्न जनप्रतिनिधिहरुलाई सुझाव पनि दिए ।