डोटी, २८ जेठ । साविक सुदूरपश्चिम क्षेत्रीय सदरमुकाम दिपायल र डोटी जिल्ला सदरमुकाम सिलगढी क्षेत्रमा मतदाता शिक्षा प्रभावकारी रुपमा पुग्न नसकेको मतदाताहरुले गुनासो गरेका छन् ।
मतदान कसरी गर्ने भन्ने सन्दर्भमा निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालय मार्फत मतदाता शिक्षाका लागि स्वयंसेवक परिचालन गरेको भए पनि प्रभावकारी रुपमा मतदाता समक्ष नपुगेको गुनासो आएको हो ।
निर्वाचनको मिति नजिक आईसकेको भए पनि आफुले मतदाता शिक्षा पाउन नसकेको डोटी सदरमुकाम सिलगढी अर्थात दिपायल सिलगढी नगरपालीका–६, टुँडिखेल नजिक लक्ष्मी टोल बस्ने शिक्षक समेत रहेका ५७ वर्षीया सरिता श्रेष्ठले बताइन् ।
त्यस्तै टुँडिखेल नजिकै बस्ने ५४ वर्षिया हरिप्रसाद केसीको पनि सोहि गुनासो छ ।
निर्वाचन कार्यालयले नमूना मतपत्र सहित मतदान कसरी गर्ने प्रक्रिया सम्बन्धमा स्वयंसेवक खटाएको भन्ने सुनेता पनि आफुले अहिलेसम्म नभेटेको उनले बताए ।
त्योभन्दा फरक गुनासो छैन दिपायल सिलगढी नगरपालीका–५, बसपार्क बस्ने नेपाल दलित संघका जिल्ला उप–सभापती रविन्द्र बागचन्दको । एकातिर मतदाता शिक्षाका लागि स्वयंसेवक खटाएर रकम खर्च हुने तर मतदाता समक्ष शिक्षा पुग्न नसक्नु राम्रो कुरा नभएको उनले बताए ।
त्यस्तै सोहि वडाको कारगार नजिकै घर भएका बबि बि.सि.ले पनि अहिलेसम्म मतदाता शिक्षा स्वयंसेवकलाई नभेटेको बताए ।
किन मतदाता समक्ष मतदाता शिक्षा पुग्न सकेन त भन्ने प्रश्नको जवाफमा जिल्ला निर्वाचन कार्यालयका मतदाता शिक्षा तालिम समन्वयकर्ता लक्ष्मीराज ओझाले भने–‘हामीले स्वयंसेवकलाई जेठ ३१ गतेसम्मको कार्ययोजनाका साथ कार्य क्षेत्रमा खटाएका छौं, मतदाता शिक्षा पुग्न नसकेको गुनासो आईरहेको क्षेत्रमा तत्काल जिम्मेवारी पूरा गर्न स्वयंसेवकलाई निर्देशन दिईएको छ ।’
मतदाता शिक्षा मतदाता समक्ष पुगिरहेको छ कि छैन भन्ने विषयमा आफुले पनि अनुगमन गरिहेको बताउँदै क्षेत्रीय सदरमुकाम समेत रहेको दिपायलको पिपल्ला, पुल बजार, शिखर नगरपालीकाको तिलताली क्षेत्रका केहि भागमा मतदाता शिक्षा नपुगेको आफैंले भेटाएको बताए ।
सबै सरोकारवाला केन्द्रित रहने सदरमुकाम क्षेत्रमै मतदाता शिक्षा पुग्न ढिलाई नगर्न र मतदाता शिक्षाको लागि जेठ ३१ गतेसम्म आम मतदाता समक्ष अनिवार्य पुग्न स्वयंसेवकलाई कडाईका साथ खटाईने पनि ओझाले प्रतिवद्धता जनाए ।
साथै मतदाता शिक्षा नपुगेको क्षेत्रबाट सबै सरोकारवालाहरुले समयमै जिल्ला निर्वाचन कार्यालयलाई जानकारी गराई दिन पनि उनले आग्रह गरे ।
केहि ठाउँमा राजनीतिक आस्था र व्यक्तिगत रिसिबीका कारण समेत मतदाता शिक्षा स्वयंसेवक घरदैलोमा पुगे पनि नपुगेको गुनासो गरिरहेको पाईएको जिल्ला निर्वाचन अधिकारी नन्दिराज ओझाले बताए ।
निर्वाचन आयोगकै योजना अनुसार एसएलसी उत्तिर्ण गरेका एलजिसिडिपिका सामाजिक परिचालक, बाल विकास सहजकर्ता र महिला स्वयंसेविकाहरु गरी जिल्लाभरीमा १ सय ५८ जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिएको उनले जानकारी दिए ।
गाउँपालिका तथा नगरपालिकाका कार्यकारी अधिकृतहरु मतदाता शिक्षाका समन्वयकर्ता रहेको र वडा सचिवहरुलाई मतदाता शिक्षाको सुपरीवेक्षणको जिम्मेवारी रहेकाले सबैले जिम्मेवारी पूरा गरि सहयोग गरिदिन जिल्ला निर्वाचन कार्यालय डोटीले आग्रह गरेको छ ।













प्रतिक्रिया