काठमाडौं, २५ जेठ । काठमाडौं महानगरपालिकाको वडा नम्बर ३० का नवनिर्वाचित पदाधिकारीलाई स्वागत तथा सम्मान गरिएको छ । राजधानीको मैतिदेवीस्थित अल्बर्ट इंग्लिस सेकेण्डरी बोर्डिङ स्कुलले बुधबार विद्यालय प्राङ्गणमा एक समारोहका बीच भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित वडा पदाधिकारीलाई स्वागत गरेको हो ।
कार्यक्रममा स्कुलका प्रिन्सिपल सुजिता अधिकारी पोखरेलले मन्तव्यमार्फत स्वागत तथा अध्यक्ष शम्भु पोखरेलले खादा ओढाउँदै निर्वाचित पदाधिकारीहरु वडाध्यक्ष दलबहादुर कार्की, सदस्यहरु सीता तिवारी, शर्मिला श्रेष्ठ महतो, निरजराज सत्याल र मनोजकुमार ढंगोललाई प्रशंसापत्र वितरण गरेका थिए ।

स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष कार्कीले विकास निर्माण तथा सामाजिक काममा आफूहरु विद्यालयसँग मिलेर जाने बताए । ‘विद्यालय र वडा मिलेर अघि बढ्नुपर्छ’, उनले भने– ‘हामी सहकार्य गर्छाैं ।’
आफूले कार्यभार सम्हालेलगत्तै ढल व्यवस्थापन र बाटो स्तरोन्तीको निर्णय गराएको जानकारी गराउँदै सयौं विद्यार्थीमाझ वडाध्यक्ष कार्कीले अगाडि भने– ‘अब तपाईहरु हिलोमा हिड्नुपर्दैन्, सडकको तुरुन्तै स्तरोन्ती हुन्छ । अर्काे वर्षमा पिच भइसक्छ ।’
कार्यक्रमको अन्तिममा बोल्दै स्कुलका अध्यक्ष शम्भु पोखरेलले स्थानीय तहका पदाधिकारीसँग विद्यार्थीले प्रत्यक्ष साक्षात्कार गर्न पाउँदा समाजमा सकारात्मक प्रभाव पर्ने बताए । ‘जनप्रतिनिधि को हुन् भन्ने विषय विद्यार्थीले थाहा पाए’, उनले भने– ‘यसले समाजमा सकारात्मक प्रभाव राख्छ ।’

स्थानीय तहको निर्वाचनले संविधान कार्यान्वयनको आधार खडा गरेको भन्दै अध्यक्ष पोखरेलले सम्पूर्ण निर्वाचन सम्पन्न गरी देशलाई आर्थिक समृद्धितर्फ अगाडि बढाउनुपर्नेमा जोड दिए । ‘निर्वाचनबाट संविधान कार्यान्वयनतर्फ अघि बढ्नु खुसीको कुरा हो’, उनले भने– ‘सधै आन्दोलन र स्थिरताको चपेटामा परेका हामी नेपाली अब ढुक्क हुने अवस्था आयो ।’
कार्यक्रममा विद्यार्थीका तर्फबाट स्कुल क्याप्टेन रसिला गौतमले अतिथिहरुलाई मन्तव्यमार्फत स्वागत गरेकी थिइन् भने कार्यक्रम समापनपछि वडाका नवनिर्वाचित पदाधिकारीले विद्यार्थीहरुसँग सामुहिक तस्वीर खिचाएका थिए ।












प्रतिक्रिया