काठमाडौं, २५ जेठ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पालामा उर्जामन्त्री बनेका जनार्दन शर्मा गृहमन्त्रीका रुपमा सरकारमा दोहोरिने भाग्यमानीमध्येका एक हुन् ।
बुधबार पदभार सम्हाले लगत्तै गृहमन्त्री शर्माले सुरक्षा संगठनमा देखिएका समस्या निराकरण गर्न सिपाही समेतको सुझाव लिएर आवश्यक नीति निर्माण र आवश्यक पुनर्संरचना गरिने बताएका छन् ।
उनले गृह मन्त्रालय र प्रहरी प्रशासनलाई जनताले चाहेको जस्तो बनाउने प्रतिवद्धता जनाए । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।
गृहमन्त्री शर्माले सिपाहीको सुझाव लिएर प्रहरीलाई जनताले चाहेको जस्तो बनाउन सक्लान त ? यो महत्वपूर्ण चुनौतीको विषय हो । किनकी प्रहरी संगठनमा यतिखेर चेन अफ कमाण्ड भत्किएको अवस्था छ भने तल्लो दर्जाका प्रहरीले माथिल्लो दर्जाका प्रहरीलाई टेर्ने अवस्था छैन । गृहमन्त्री शर्मासामु यस्ता चुनौतीहरु धेरै छन् ।
कार्य सम्पादन मूल्यांकनमा किर्ते गरेको भन्दै सरकारले दोषी ठह-याई डिआईजी नवराज सिलवाललाई कारबाहीको सिफारिस गरेको छ । जुन विवाद अहिले सर्वोच्च अदालतमा छ । प्रहरीमा सिलवाल जस्ता चेन अफ कमाण्डमा बस्न नचाहने र मिडियामा जथाभावि बोलेर हिरो बन्न खोज्ने प्रहरी अधिकारीहरु धेरै छन् ।
त्यसो त गृहमन्त्री शर्माले पहिलो पत्रकार सम्मेलनमै पत्रिकाबाजी गर्ने, वक्तव्य दिने वा अनावश्यक अन्तरवार्ता दिँदै हिड्ने कुरा बन्द गर्ने बताएका छन् । यो कुरा लागु हुन्छ कि हुँदैन समयक्रमले नै बताउला । प्रहरीमा अहिले एसपी देखि एआईजीसम्म बढुवा प्रक्रिया रोकिएको छ ।
सरकारले आईजीपीमा नियुक्ति गरे पनि सर्वोच्चको हस्तक्षेपले रोकिएका डिआईजी जयबहादुर चन्दलाई गृहमन्त्री शर्माले कसरी मूल्यांकन गर्लान ? यो अर्को चुनौतीको विषय हो ।
प्रहरीमा रोकिएको बढुवा प्रक्रिया लम्बिदा धेरै सक्षम प्रहरी अधिकारीहरुले अवकाश पाएका छन् । समयानुकुल बढुवा नहुँदा प्रहरीहरुको बृत्ति विकासमा नकारात्मक असर परि प्रहरी संगठनमा अन्यौल छाएको छ । अहिले प्रहरीमा प्राविधिक बाहेकका एआईजी पद खाली छ ।
तर, कुनै पनि डिआईजीको बढुवा हुन सकेको छैन । बढुवा र सरुवामा नवनियुक्त गृहमन्त्री शर्माले पारदर्शिता नअपनाई विमलेन्द्र निधी र शक्ति बस्नेतकै शैलीमा काम गर्न थाले भने उर्जामन्त्री हुँदा बनेको शाख गिर्नेमा दुईमत छैन । स्थानीय तहको दोस्रो चरणको निर्वाचन निष्पक्ष रुपमा असार १४ मै सम्पन्न गराउनु उनको लागि अर्को चुनौती हो ।












प्रतिक्रिया