१ कार्तिक २०८३, आइतबार

ओलीले संसदमा दिएको सम्बोधनबारे उपेन्द्रले दिए कठोर टिप्पणी

9.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ जेठ । एमालेका अध्यक्ष केपी ओलीले संसदमा दिएको लामो सम्बोधनको संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले कठोर टिप्पणीसहित आलोचना गरेका छन् ।

यादवले ओलीले संसदमा मंगलबार मधेस र मधेसी जनातबारे देखाएको सहानुभूति नक्कली भएको टिप्पणी गरे । उनले भने, ‘केपी ओली र एमालेले जतिसुकै ढाकछोप गर्न खोजे पनि मधेसविरोधी चेहरा उदांगो भएको छ ।’

ओलीले सरकारले गणतन्त्र दिवसका दिन सरकारले विभिन्न पदक, विभुषण र मानपदवी वितरण गर्दा मधेसमाथि विभेद गरेको भन्दै मधेसीको ‘सेन्टिमेन्ट’ आफूतिर तान्ने कोसिस गरेका थिए ।

सरकारले ५ सय १४ वटा अलंकार, मानपवदी र विभुषण वितरण गर्दा मधेसीको भागमा जम्मा ५४ वटा मात्र परेको उल्लेख गरेका थिए ।

एमाले कहिल्यै मधेसविरोधी नभएको बरु आफ्नो सरकार हुँदा मधेसको विकासमा धेरै बजेट पठाएको, हुलाकी राजमार्गको काम अगाडि बढाएको तथा मधेसमै रहेको पूर्वपश्चिम राजमार्ग चौडा पार्ने कामको सुरुआत गरेको ओलीले सदनमा बताएका थिए ।

गजेन्द्रनारायण सिंहदेखि महन्थ ठाकुर, विजय गच्छदार, जेपी गुप्तासहित काँग्रेसका धेरै नेताले मधेससम्बन्धी कँंग्रेसको नीति गलत भएका कारण पार्टी छाडेको भन्दै एमालेमा महेन्द्र यादवसहित केही नेताहरू भ्रममा परेका मानिसले छाडेर गएको टिप्पणी ओलीले गरेका थिए ।

प्रधानमन्त्री निर्वाचनमा कांग्रेस सभापति शेरबहादुर देउवाका पक्षमा मत दिएर बाहिरिएका उपेन्द्र यादवले ओलीको लामो भाषणबारे छोटो टिप्पणी गरे ।

‘उहाँको नक्कली कुरामा मधेसी जनतालाई विश्वास छैन’, उपेन्द्रले भने, ‘मधेसले कुनै पदक, विभुषण र मानपदवी मागेको होइन, अधिकार मागेको हो । पदक तपाईंहरु नै बाँडेर लिनुहोला ।’