
काठमाडौँ, २३ जेठ । देशको ४० औंं प्रधानमन्त्रीमा निर्वाचित भएका कांग्रेस सभापति शेरबहादुर देउवाले नयाँ रेकर्ड बनाएका छन् ।
समकालिन नेताहरुमा सबैभन्दा बढी पटक प्रधानमन्त्री भएर उनले नयाँ रेकर्ड बनाएका छन् । यसपटक समेत गरी देउवा चारपटक प्रधानमन्त्री भइसकेका छन् । पहिलोपटक ०५२ सालमा प्रधानमन्त्री बन्दा देउवा ४९ वर्षका थिए । अहिले ७१ बर्ष पार गरिसकेका देउवा ०५८ साल र २०६१ मा प्रधानमन्त्री बनेका थिए । उनी १२ बर्षपछि यसपटक फेरि प्रधानमन्त्री निर्वाचित भएका हुन् ।
प्रधानमन्त्री पदमा देउवाको मात्रै उम्मेदवारी परेको थियो । उनको पक्षमा झण्डै दुई तिहाई अर्थात ३८८ मत परेको छ भने विपक्षमा १७० मत परेको छ । माओवादी केन्द्र, राप्रपा, नेपाल लोकतान्त्रिक फोरम, संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टीलगायतका दल उनको पक्षमा उभिए । यसैगरी, नेकपा एमाले, नेकपा माले, नेपाल मजदुर किसान पार्टी, परिवार दललगायत ९ दल देउवाको विपक्षमा उभियो ।
यस्तो छ देउवाको जीवनी
नवनिर्वाचित प्रधानमन्त्री देउवाको जन्म २००३ जेठ ३१ गते आसिग्राम–५ रुवाखोला डडेल्धुरामा भएको हो । हाल उनी बूढानीलकण्ठ नगरपालिका भद्रकालीमा बस्दै आएका छन् ।
प्रधानमन्त्री देउवा काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको प्रेरणाबाट उनी राजनीतिमा होमिएका हुन् । खासगरी विसं २०१७ को राजनीतिक घटनाक्रमपछि नेपालको प्रजातान्त्रिक आन्दोलनमा निरन्तर रुपमा सक्रिय भएका उनी विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका थिए । उनी नेपाल विद्यार्थी सङ्घका प्रथम निर्वाचित सभापति एवम् संस्थापक सदस्य हुन् ।
त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक प्रधानमन्त्री देउवा सोही विषयमा लन्डन स्कुल अफ इकोनमिक्सका रिसर्च फेलो रहिसकेका छन् । उनकी धर्मपत्नी डा आरजु राणा देउवा पनि व्यवस्थापिका–संसद् सदस्य छन् । देउवाका एक छोरा मात्र छन् ।
विसं २०४८, २०५१ र २०५६ का संसदीय निर्वाचनमा डडेल्धुराबाट निर्वाचित हुनुभएका उनी २०६४ र २०७० सालमा भएको संविधानसभाको निर्वाचनमा डडेल्धुराका साथै कञ्चनपुर र कैलालीबाट समेत विजयी भएका थिए ।
विसं २०४८ मा गृहमन्त्री बनेका देउवाले त्यसपछि पटकपटक गरी तीन पटकसम्म प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । पहिलोपटक २०५२ भदौ २६ देखि २०५३ फागुन २६ गतेसम्म प्रधानमन्त्री भएका देउवा त्यसपछि २०५८ साउन ७ गतेदेखि २०५९ असोज १८ सम्म दोस्रोपटक प्रधानमन्त्री बने । असोज १८ मा तत्कालीन राजा ज्ञानेन्द्रले उनलाई पदबाट बर्खास्त गरेका थिए ।
प्रधानमन्त्री देउवा २०६१ जेठ २१ गते तेस्रोपटक प्रधानमन्त्री बने । तर, राजा ज्ञानेन्द्रले प्रधानमन्त्री देउवालाई असक्षम भन्दै २०६१ माघ १९ गते पुनः पदबाट बर्खास्त गरे ।
पार्टीभित्रको कलह बढ्दै गएपछि २०५९ सालमा काँग्रेस विभाजन भई गठन भएको नेपाली काँग्रेस प्रजातान्त्रिकको उनी सभापति समेत बने । विसं २०६४ मा काँग्रेस र काँग्रेस प्रजातान्त्रिकको एकतापछि उनी नेपाली काँग्रेसको वरिष्ठ नेता बने ।
सन् २००८ देखि २०१२ सम्म सोसलिस्ट इन्टरनेसनलका उपाध्यक्ष रहेका उनी सन् २०१३ देखि उक्त सङ्गठनको अन्तर्राष्ट्रिय उपाध्यक्ष छन् । प्रजातान्त्रिक आन्दोलनका क्रममा उनले पटक–पटक गरी नौ वर्ष जेल जीवन बिताएका न् ।
देउवाले भारत, चीन, भुटान, माल्दिभ्स, श्रीलङ्का, थाइल्यान्ड, जापान, कतार, दक्षिण कोरिया, बेलायत, जर्मनी, नर्वे, फ्रान्स, स्विट्जरल्यान्ड, ग्रिस, बेल्जियम, संयुक्त राज्य अमेरिका, कोलम्बिया, डेनमार्क, अस्ट्रेलियालगायत मुलुकको भ्रमण गरेका छन् ।















प्रतिक्रिया