
गाईघाट, २३ जेठ । उम्मेदवारको बिषयलाई लिएर उदयपुरमा नेकपा एमालेभित्र बबाल भएको छ । चौदण्डी नगरपालिकाको विषयलाई लिएर चरम विवाद सिर्जना भएको हो । नगर कमिटीले सिफारिस गरेकोभन्दा फरक व्यक्तिलाई प्रदेश कमिटीले मेयरको उमेदवार बनाएको भन्दै आक्रोशित कार्याकर्ताले मंगलबार एमाले नगर कमिटीको पार्टी कार्यालय तोडफोड गर्नुका साथै पार्टी कार्यालयमा कालोझण्डा राखेका छन् ।
कार्यकर्ताहरुले चौदण्डी नगर कमिटीको कार्यालय बेल्टार ६ मा तालाबन्दी गर्नुका साथै पार्टी कार्यालयभित्र रहेका दुई थान कुर्सी जलाई कालोझण्डा गाडेका छन् । तालाबन्दीपछि कार्यकर्ताहरुले बेल्टार बजारमा प्रर्दशन समेत गरेका छन् ।
आमकार्यकर्ताको भावनाविपरित प्रदेश कमिटीले निर्णय गरेको भन्दै आक्रोशित कार्यकर्ताले निर्णय नसच्याएसम्म तालाबन्दी जारी रहने र उमेदवारलाई पनि नगर क्षेत्रमा प्रवेश गर्न नदिने अडान राखेकाछन् । हुलहुज्जतकासाथ पार्टी कार्यालयमा पुगेका आक्रोशित कार्यकर्ताले कार्यालय तोडफोड गरी कुर्सी बाहिर ल्याएर जलाएको स्थानीय सञ्चारकर्मी केदार कटुवालले जानकारी दिए ।
कुर्सी जलाउन थालेपछि भीड नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक आशाराम चौधरीको नेतृत्वमा प्रहरी टोली पुगेको थियो । इन्सपेक्टर चौधरीले पार्टी भित्रको आन्तरिक विवादका बिषयलाई लिएर कालोझण्डा राख्ने र तालाबन्दी लगाउने काम भएको बताए ।
पार्टीको केन्द्रीय सर्कुलर बमोजिम नगर कमिटीले कुमारसिंह कार्की, राजेन्द्र कटुवाल, शम्भु पौडे्ल र कालु लामालाई सिफारिस गरेको थियो । सिफारिसमा परेका जो उम्मेदवार भएपनि एक अर्काले सघाउने भन्ने उनीहरुबीच समझदारी बनेको थियो ।
चार जनामा जसलाई टिकट दिएपनि विवाद सिर्जना हुने र अन्तरघात हुने सम्भावना बढेको भन्दै १ नम्बर प्रदेश कमिटीले पार्टीका जिल्ला कमिटी सदस्य नरेन्द्र राउतलाई टिकट दिएपछि विवाद सिर्जना भएको हो ।
प्रदेश कमिटीको उक्त निर्णयसँगै स्थानीय कार्यकर्ताले सिफारिसमा परेका चार जनालाई घेरा हाली चार मध्ये १ जना सर्वसहमत नभएसम्म पार्टी कार्यालयबाट निस्कन नदिने भन्दै दुई घण्टासम्म पार्टी कार्यालय भित्रै थुनेका थिए ।
कार्यकर्ताको तीव्र विरोधका बाबजुद उनीहरुले प्रदेशको उक्त निर्णय नमान्ने र सामाजिक व्यक्तित्व पुर्व क्षेत्रीय कमिटी अध्यक्ष एवंम बुद्धीजीवि परिषद उदयपुरका अध्यक्ष कुमारसिंह कार्कीलाई सर्वसम्मत उमेदवार बनाउने निर्णय गरेको जिल्ला कमिटी सचिवालय सदस्य तथा मेयरका आकांक्षी कालु लामाले बताए ।
आफ्नै कार्यकर्ता पार्टी कार्यालय तोडफोडमा उत्रिएपछि पार्टी शुभेच्छुक तथा मतदाताहरु अन्यौलमा देखिएका छन् । एमाले आन्तरिक विवादमा फसेको भन्दै विपक्षी पार्टी भने उत्साहित देखिएका छन् । एमालेभित्र विवाद चुलिदै जाँदा मतदाता आफ्नो पंक्षमा पार्ने योजनाकासाथ विपक्षी पार्टी लागेको देखिन्छन् ।















प्रतिक्रिया