
चन्द्रनिगाहपुर, २१ जेठ । रौतहट जिल्लाको चन्द्रनिगाहपुर नगरपालिकामा अपरिचित समूहले एक्जाभेटरमा आगो लगाइ नष्ट गरिदिएको छ ।
पुल निर्माणको काममा रहेको एक्जाभेटरमा शनिबार मध्यराति अपरिचित समूहले आगजनी गरेको हो । चन्द्रपुर नगरपालिकाको वार्ड नम्बर ३ गैँडाटारस्थित चाँदी खोलामा निर्माणाधीन पुलमा काममा लगाइएको एक्जाभेटरमा आगजनी भएको प्रहरीले जनाएको छ ।
मध्यरातमा दर्जनको संख्या रहेको अज्ञात समूहले बा २ क ४१८१ नम्बरको एक्जाभेटरमा आगजनी गरेका थिए । आगलागीबाट ९६ लाख रुपैयाँ मूल्य पर्ने एक्जाभेटर नष्ट भएको छ ।
घटनाका विषयमा थाहा पाउनेबित्तिकै इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी यादव ढकालको नेतृत्वमा प्रहरी घटनास्थल पुगेको थियो ।
पुल निर्माणको ठेक्का लिएको पप्पु कन्ट्रक्सन र शिवशंकर कन्स्ट्रक्सनले राम्रोसँग काम नगरेको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले आगजनी गरेको हुन सक्ने प्रहरीले प्रारम्भीक अनुमान गरेको छ । आगजनीको घटनाको कसैले जिम्मेवारी लिएको छैन ।
शिवशंकर कन्स्ट्रक्सनका प्रोप्राइटर दयाराम साहले अज्ञात समूहको आगजनीले पचास लाखभन्दा बढीको क्षति भएको बताएका छन् ।












प्रतिक्रिया