१ कार्तिक २०८३, आइतबार

‘एमालेले बालहठ त्याग्नु पर्छ, बागलुङमा हारेको एमालेले पछि चुनाव जित्यो’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० जेठ । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले एमालेले निर्वाचन आयोगको कामकारबाहीलाई संसदसम्म ल्याएको भन्दै असन्तुष्टि जनाएका छन् ।

नेपाली रेडियो नेटवर्कमा शनिबार बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै नेता पुनले आयोगको कामकारबाहीलाई कसैले पनि प्रभावित बनाउन नहुने बताए । उनले भने, ‘निर्वाचन आयोगको प्रक्रियालाई स्वीकार गर्नुपर्छ । हामी जनमतको कदर गर्छौं । हार वा जितलाई लिएर भरतपुरको अन्तिम परिणालाई अस्वीकार गर्ने भन्ने हुँदैन ।’

भरतपुरमा पुनः मतणनाको कुरा उठेको छ नि भन्ने प्रश्नमा माओवादी नेता पुनले भने, ‘०५४ सालमा बागलुङको साबिक गाविस अमलाचौरमा एमालेका प्रतिनिधिहरूले मतपत्र च्यातेका थिए । कांग्रेस ९० मतले अगाडि थियो । २५ मत गन्न बाँकी रहँदा एमालेले मत पत्र च्यात्यो । पुनः मतदान भयो । एमालेले दुई मतले जित्यो ।’

नेता पुनले भने, ‘०५९ सालमा पनि नेपाल सद्भावना पार्टीले सप्तरीमा मतपत्र च्यातेको थियो । त्यहाँ पनि यस्ता घटना भइसकेको छन् ।’
उनले आयोगले कानूनअनुसार पुनः मतदान गराउँछ भने त्यसलाई स्वीकार गर्नुपर्ने बताए । ‘निर्वाचन आयोगले भरतपुरमा पुनः मतगणना गरे पनि तयार छौँ । मतगणना गरे पनि तयार छौँ’, उनले भने, ‘आयोगले गर्ने कानूनी निर्णयलाई सबैले स्वीकार गर्नुपर्छ ।’

एमालेका मुख्य सचेतक भानुभक्त ढकालले भरतपुरको घटनालाई लिएर प्रधानमन्त्री निर्वाचनमा अबरोध कायम राख्ने चेतावनी दिए । उनले भने, ‘माग पूरा नहुँदासम्म अबरोध कायमै रहन्छ । हामीले सूचनाबाट प्रधानमन्त्री निर्वाचनको कार्यक्रम जारी नगर भनेका थियौँ ।’

संवैधानिक निकायको विषयलाई एमालेले संसद अबरोध गरेर किन हस्तक्षेप गर्दै छ भन्ने प्रश्नको जवाफमा मुख्य सचेतक ढकालले भने, ‘हामीलाई त्यो विषय थाहा छ । तर, विधिको शासनका लागि संसद अबरोध गरेका हौँ ।’

ढकालले प्रधानमन्त्री निर्वाचनमा सहभागी हुने वा नहुने के गर्ने भनेर विपक्षी गठबन्धनमा छलफल गर्ने बताए । उनले भने, ‘प्रधानमन्त्री पदमा कसैलाई उठाउने वा नउठाउने के गर्ने भनेर छलफल हुँदैछ ।’

नेपाली कांग्रेसका नेता खानेपानी राज्यमन्त्री दीपक खड्काले एमालेले प्रधानमन्त्री निर्वाचनमा अबरोध गरेर बालहठ गरिरहेको आरोप लगाए । ‘निर्वाचन आयोगलाई सरकारले भनेर हुँने भए स्थानीय तहको पहिलो निर्वाचनमा कांग्रेस किन एमाले पहिलो हुन्थ्यो र ? कांग्रेस नै पहिलो हुन्थ्यो नि !’, उनले भने, ‘आयोगलाई निष्पक्ष भएर काम गर्न दिनुपर्छ । एमालेले निर्वाचन आयोगको कामलाई संसदमा ल्याएर अनावश्यक विवाद निम्त्याउनु हुँदैन । प्रधानमन्त्री निर्वाचन रोकेर संसदीय पद्धतिलाई रोक्नु मिल्दैन ।’