९ मंसिर २०८३, बुधबार

‘एमालेबाट बामदेव गौतम प्रधानमन्त्री उम्मेदवार’

10.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एमाले उपाध्यक्ष बामदेव गौतम

काठमाडौं, १९ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रभावशाली नेता शंकर पोखरेलले कांग्रेस–माओवादी केन्द्रवीचको गठबन्धनबाट कांग्रेस सभापति शेरबहादुर देउवाबाहेक अरु जो आएपनि प्रधानमन्त्री निर्वाचनमा आफ्नो पार्टीले समर्थन गर्ने स्पष्ट पारेका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै पोखरेलले कांग्रेस र माओवादी केन्द्रको गठबन्धनबाट कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा उठे आफ्नो पार्टीले कुनैपनि हालतमा समर्थन नगर्ने बताएका हुन् । उनले भने, ‘कांग्रेस सभापति देउवाजीलाई प्रधानमन्त्री बन्न हतारो छ, सत्ताको लागि उहाँलाई निकै हतारो देखिएको छ, त्यसैको उपज हो प्रधानमन्त्री प्रचण्डजीको गलत समयमा आएको राजीनामा, त्यसैले हामी यही गठबन्धनका तर्फबाट देउवाजी प्रधानमन्त्रीमा उठ्नुभयो भने हामी कुनैपनि हालतमा उहाँलाई समर्थन गर्न सक्दैनौं ।’

नेकपा एमालेका नेता शंकर पोखरेल शुक्रबार रिपोर्टर्स क्लवमा

एमाले स्थायी समिति सदस्य समेत रहेका पोखरेलले कांग्रेस र माओवादी केन्द्रकै गठबन्धनबाट देउवाबाहेक नयाँ विकल्प अघि सारिए आफ्नो पार्टीले समर्थन गर्न सक्ने संकेत गरे ।

उनले भने, ‘कांग्रेस र माओवादी केन्द्रको गठबन्धनबाट देउवाजीबाहेक अरु कोही वा विकल्प अघि सारिन्छ भने हामी समर्थन गर्छौं। ’ यदि कांग्रेस र माओवादी केन्द्रले देउवालाई नै प्रधानमन्त्रीको रुपमा अघि सारे आफ्नो पार्टीका तर्फबाट उपाध्यक्ष वामदेव गौतमलाई उठाउने समेत तयारी भएको उनले जानकारी गराए । उनले भने, ‘हाम्रो तर्फबाट वामदेवजीको बलियो संभावना छ, हामी उहाँलाई नै प्रधानमन्त्रीमा उठाउँछौं।’

नेता पोखरेलले जनता निर्वाचनको पक्षमा रहेकोले दोस्रो चरणको निर्वाचनपनि समयमै हुनुपर्ने बताए । उनले भने,‘नेपाली जनता चुनावको लागि तयार छन्, आँतुर हुनुहुन्छ, तर दोस्रो चरणको निर्वाचनको मिति पटक–पटक सारिएकोले केही संशय समेत छाएको छ।’ पोखरेलले निर्वाचनमा भाग नलिने दलहरु जनतामा अधिकार पुर्याउने माध्यमबाट र जनतामा जाने अवसरबाट बञ्चित हुनेतर्फ समेत सचेत गराएका छन् ।

उनले राजपा नेपालपनि दोस्रो चरणको निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गरे । उनले भने,‘राजपा नेपाल पनि निर्वाचनमा सहभागी हुन्छ भन्नेमा म विश्वस्त छु, उहाँहरु आउनुहुुन्छ।

उनले प्रधानमन्त्री प्रचण्डको राजिनामा अनुचित समयमा आएको भन्दै यो गलत भएको आरोप लगाए । उनले भने,‘राजिनामाको समय छनौट नै गलत भयो, यो अनुचित थियो, यो कुरा दुनियाँलाई नै थाहा भैसक्यो नि।’

उनले भरतपुर महानगरपालिकाको मतपत्र च्यातिएको विषयलाई लिएर निर्वाचन आयोगले निर्णय दिन ढिलाई गरेको भन्दै आयोगको ध्यानाकार्षण गराए । उनले भने,‘आयोगले निकै विलम्ब गर्यो, निर्वाचन अधिकृतले गर्नुपर्ने निर्णय किन यसरी ढिलाई भैरहेको छ ?’ पोखरेलले च्यातिएको मतपत्रलाई छाडेर अन्य मतगणना अविलम्ब गर्नुपर्ने बताए । उनले आफूहरुलाई ९० मतले खासै प्रवाह नपर्ने समेत बताए । उनले भने,‘हामीलाई जित हारले फरक पार्दैन् ।’