काठमाडौं, १८ जेठ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री एवं नेपाली कांग्रेसका प्रभावशाली नेता रमेश लेखककले काठमाडौं तराई द्रुतमार्ग (फास्ट ट्रयाक) परियोजनाको निर्माण कार्य द्रुत गतिमा बढ्ने बताएका छन् ।
विहिबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री लेखकले आफ्नो १० महिने कार्यकालमा फास्ट ट्रयाक निर्माण प्रक्रिया अगाडि बढाउनेदेखि चीनको बहुआयामिक वान रोड वान बेल्ड (ओवीआर)मा हस्ताक्षरसम्म उपलब्धिमुलक कार्यहरु भएको जानकारी गराए ।
यसक्रममा उनले फास्ट ट्रयाक आफ्नै लगानीमा बनाउने निर्णय पूर्ववर्ती (केपी ओलीको नेतृत्व) सरकारले गरेको र यसका लागि संसदबाट बजेट समेत छुट्याएको स्मरण गर्दै आफूहरुले निर्माण हुने कि नहुने कहिलेबाट हुने भन्ने अन्योलको अवस्थालाई समाधान गर्दै नेपाली सेनालाई ठेक्का दिइ निर्माण प्रक्रियाको थालनी गरेको बताए । अहिले सेनाले तोकिएकै समयअवधिभित्र गुणस्तर प्रविधिबाट फास्ट ट्रयाक बनाइछाड्ने दृढता समेत व्यक्त गरे ।

फास्ट ट्रयाकलाई कांग्रेस नेता एवं तत्कालिन भौतिक पूर्वाधार मन्त्री विमलेन्द्र निधिले भारतलाई दिन खोजेका थिए । तर, त्यसलगत्तै बनेको एमालेको नेतृत्वको सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय कम्पनीसँगको ठेक्का रद्द गर्दै आफ्नै लगानीमा नेपाल आफैले बनाउने घोषणा गरेका थिए । उनले यसका लागि बजेट समेत छुट्याएका थिए । लगत्तै बनेको नयाँ सरकारले जनदबाबका कारण यसलाई निरन्तरता दिँदै निर्माण प्रक्रिया अगाडि बढाएको हो । मन्त्री लेखकले यसलाई आफ्नो कार्यकालको एउटा महत्वपूर्ण उपलब्धि ठानेका छन् ।
यस्तै मन्त्री लेखकले पूर्वपश्चिम महेन्द्र राजमार्गलाई फोरलेनको बनाउनेगरी विस्तार गर्ने तयारी भइरहेको भन्दै मन्त्रालयका अधिकारीबाट डिपिआर अध्ययन भइरहेको जानकारी दिए ।
















प्रतिक्रिया