९ मंसिर २०८३, बुधबार

नेपाली नागरिकको अपहरण गरी भाग्ने भारतीय समूह पक्रउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– झलक पाली

डोटी, १९ जेठ । बुधबार मध्यरातमा कुटपिट सहित नेपाली नागरिकलाई अपहरण गरेर भाग्न लागेका एक भारतीय समूहलाई डोटी प्रहरीले नियन्त्रणमा लिएको छ ।

डोटीको दिपायल सिलगढी नगरपालिका ८ लडागडा बस्ने अन्दाजी ३० वर्षीय युवा लाल आउजीलाई भारतीय समूहले अपहरण गरी भाग्दै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।

घटनाबारे स्थानीयले थाहा पाएपछि लडागडा प्रहरी चौकीलाई खबर गरुञ्जेल भागिसकेको र त्यसपछि जिल्ला प्रहरी कार्यालय डोटीलाई खबर गरेपछि सिलगढीबाट उक्त अपहरणकारी समूहलाई जिल्ला प्रहरी कार्यालय डोटीले गाडी सहित नियन्त्रणमा लिएको हो ।

भारतीय नागरिकले नेपाली नागरिकको के कति कारणले अपहरण गर्न लागेका हुन् भन्ने विषय खुल्न सकेको छैन ।

भारतमा काम गर्न गई करिब ९ महिना पहिले लाल आउजी भारतबाट फर्केर हाल गाउँमै बस्दै आएको स्थानीयले बताएका छन् ।
भारतीय समूह कति जना छन् भन्ने समेत प्रहरीले खुलाउन चाहेको छैन ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमूख प्रहरी उपरिक्षक दिल्लीराज बिष्टले घटनाबारे बोल्न वेवास्ता गरेका छन् ।

यस विषयमा सुदूरपश्चिम क्षेत्रीय प्रहरी प्रमूख प्रहरी नायव महानिरिक्षक रोमेन्द्र सिंह देउजाले आफुलाई जानकारी नभएको प्रतिक्रिया दिए । उनले भने–“मैले जानकारी पाएको छैन । तर अब डिटेल (विस्तृत) बुझ्छु ।”

अपहरणमा परेका व्यक्तिका आफन्तहरुका अनुसार अपहरणमा संलग्न भारतीय नागरिकलाई प्रहरीले आफ्नै मेसमा ससम्मान खाना खुवाईरहेको र उल्टै अपहरणमा परेका मान्छेलाई प्रहरी खोरमा राखेर थप विभेद गरेको दुःखेसो पोखेका छन् ।

भारतीय समूहसँगै डोटी लडागडाकै प्रसाद पार्की नाम बताउने व्यक्ति पनि संलग्न रहेको बताइएको छ ।

प्रसाद पार्कीले नै लाल आउजीको घर देखाएर राती करिब २ बजेको समयमा आफ्नो नाम बताउँदै म इण्डियाबाट आएँ, ढोका खोल्नुस भनेपछि ढोका खोल्ने वित्तिकै अपहरणकारीहरु लाल आउजीको घरभित्र पसेर कुटपिट गर्दै डोरीले बाँधेर जबरजस्त गाडीमा हालेर भागेको घटनाका प्रत्यक्षदर्शी नाम नबताउने शर्तमा एक स्थानीयले बताए ।

प्रहरी श्रोतका अनुसार अपहरणकारीले प्रयोग गरेको गाडी राजेश बागचन नाम गरेका व्यक्तिको रहेको र चालक पनि उनि रहेको बताईएको छ ।

प्रहरीले उक्त गाडीलाई नम्बर प्लेट समेत नदेखिने गरी त्रिपालले छोपेर राखेको छ ।

उसो त २०७३ बैशाख १२ गते मात्रै भारतीय इन्स्पेक्टरको नेतृत्वमा Ak-47  हतियार सहित आएको एक समूहलाई पनि डोटी र अछामको सिमा क्षेत्र चौखुट्टेबाट डोटी प्रहरीले नियन्त्रणमा लिएको थियो र पछि स्कटिङ् सहित सिमा नाका पार गराई भारत पठाईएको थियो ।