काठमाडौं, १७ जेठ । युवा संघ नेपालका केन्द्रीय अध्यक्ष राजीव पहारीले प्रधानमन्त्री प्रचण्डले बितरण गरेको पदकले सम्पूर्ण गणतन्त्रवादीको शिर निहुराएको बताउनु भएको छ ।
बुधबार पाल्पाको तानसेनमा युवा संघ जिल्ला कमिटी पाल्पाले आयोजना गरेको बृहत कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले म्यागासेसे पुरस्कार प्राप्त ब्यक्ती र सामुहिक बस्तीका अभियन्ता कलाकारहरुलाई पदक दिन नसक्नु, तर बहुबिवाहका आरोपित नव युवराजलाई पदक बितरण गर्नु हास्यास्पद भएको बताउनुभयो ।
सयौंको संख्यामा उपस्थित जनसभामा बोल्दै उहाँले उपराष्ट्रपति र मन्त्रीका आसेपासेलाई पदकले सम्मान गरेकोमा गलत नजिर स्थापित गर्न खोजेको बताउनुभयो । जनघाति लम्पसारबादी सरकारको सहयोगी दल नेपाली कांग्रेस गलगाडको पिलो भएको उहाँको आरोप छ ।
उहाँले एमालेको मुलुकमा बिकल्प नरहेको र एमालेको बिजयलाई रोक्न भरतपुरमा रचिएको नाटक जनताले बुझिसकेको समेत बताउनुभयो । त्यस्तै जारी बजेटमा युवा केन्द्रीत कार्यक्रमको कटौती गरेको र शिक्षा र स्थानीय तहको बजेट घटाएको भन्दै सरकारको आलोचना गर्नुभयो ।

कार्यक्रममा एमाले नेताहरु सोम पाण्डे, ठाकुर गैरे, युवा संघका नेता रमेश आचार्य लगायतले बोल्नु भएको थियो ।
यसैबीच युवा संघका केन्द्रिय अध्यक्ष पहारी र सचिवालय सदस्य रमेश आचार्य भोलि भरतपुरमा आयोजित बृहत कार्यक्रमलाई सम्बोधन समेत गर्न आजै चितवन प्रस्थान गर्नुभएको छ ।













प्रतिक्रिया