४ कार्तिक २०८३, बुधबार

नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायसँग अध्यक्ष गौचनको अपील

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ जेठ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनले नेपालको भौतिक पूर्वाधारको क्षेत्रमा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायसँग अपील गर्नु भएको छ ।

दक्षिण कोरियाको राजधानी सोलमाजारी एशिया तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण व्यवसायीहरूको साझा संगठन इफाकाको ४३औं बैठकलाई बुधवार सम्बोधन गर्दै अध्यक्ष गौचनले नेपालमा लगानी मैत्री वातावरण बनिरहेकाले लगानीका लागि अपील गर्नु भएको हो ।

विशेष गरी नेपालको जलस्रोतको क्षेत्रमा लगानी गर्न गौचनले अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनु भयो । विदेशी निर्माण व्यवसायीहरुसँग सहकार्य गर्दै अघि बढ्न नेपालका निर्माण व्यवसायीहरु तयार रहेको समेत गौचनले बताउनुभयो । प्राय सबै मुलुकका निर्माण व्यवसायीहरुको समस्या उस्तै रहेकाले आगामी दिनमा इफाकालाई अझ सशक्त संगठन बनाउनुपर्ने अध्यक्ष गौचनको धारणा थियो ।

दुई वर्षअघिको भूकम्पका कारण नेपालको भौतिक पूर्वाधार क्षेत्रमा अपुरणीय क्षति भएको भन्दै उहाँले संकटको उक्त समयमा विदेशी निर्माण व्यवसायीहरुले नेपाललाई गरेको सहयोगको मुक्तकण्ठले प्रशंसा गर्नुभयो ।

नेपाली प्रतिनिधिमण्डलले सम्मेलनमा भाग लिएपछि दक्षिण कोरियाले भौतिक पूर्वाधारको क्षेत्रमा गरेको चौतर्फी विकासको स्थलगत निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।

नेपाल पुनर्निर्माण तथा नवनिर्माणको चरणबाट गुज्रिरहेकाले नेपाली निर्माण व्यवसायीहरुलाई सम्मेलन तथा समग्र भ्रमण अत्यन्त महत्वपूर्ण हुने महासंघ अध्यक्ष गौचनले बताउनु भएको छ । महासंघ अध्यक्ष गौचन नेतृत्वको १ सय ३५ सदस्यीय नेपाली प्रतिनिधिमण्डल गतगत सोमबार सोल गएको हो ।