
घोराही, १७ जेठ । तुलसीपुर नगरपालिकाको मेयर पदका लागि नेपाली कांग्रेसमा धेरै आकंक्षी देखिएका छन् ।
मेयरमा कांग्रेसका नेताहरू गेहेन्द्र गिरी, घनश्याम रेग्मी, शंकर गिरीलगायत आधा दर्जन रहेका छन् । एमालेले घनश्याम पाण्डेलाई मेयर पदमा टिकट दिइसकेको छ । तर, कांग्रेसभित्र कुरा नमिल्दा अहिलेसम्म उम्मेदवारको टुंगो लाग्न सकेको छैन ।
स्रोतका अनुसार कांग्रेसका प्रभावाशाली नेता खुमबहादुर खड्काले गेहेन्द्र गिरीलाई तुलसीपुरको मेयरमा टिकट दिने इच्छा जनाएका छन् । तर, खड्का समूहकै घनश्याम रेग्मीले पनि टिकटमा इच्छा देखाएकाले केही असजिलो भएको छ ।
उता, कांग्रेसका सांसद तथा एनजिओ चलाएर बसेका कांग्रेसबाट समानुपातिक सांसद रहेका डिल्ली चौधरीले शंकर गिरीलाई मेयर पदको टिकट दिलाउने भनेर हिँडेका छन् । स्रोतका अनुसार शंकर गिरीलाई जसरी पनि टिकट दिलाउने चौधरीले बाचाकसम खाएका छन् । चौधरीले शेरबहादुर देउवासँग कुरा मिलाएर टिकट दिलाउने आश्वासन शंकर गिरीलाई दिएका छन् ।
को हुन् शंकर गिरी ?
कुनै बेला दाङ जिल्लामा राजनीति गर्दै आएका शंकर गिरी माओवादी सशस्त्र द्वन्द्वकालदेखि सम्पत्ति बिक्री गरेर नेपालगञ्जमा बसाइँ–सराइ गरेका हुन् । दाङमा गिरीको घरजग्गा र सम्पत्ति छैन । उनको सबै सम्पत्ति नेपालगञ्जमा छ । उनका परिवार सबै नेपालगञ्जमा बसोबास गर्छन् ।
नेपालगञ्जमा राजनीति गर्न समस्या भएपछि गिरीले बेलाबेला दाङमा अबसरवादी राजनीति गर्ने गरेको आरोप छ । दाङमा कुनै सम्पत्ति नरहेको व्यक्तिलाई टिकट दिँदा भविष्यमा उनबाट सहयोग पाउनेभन्दा पनि सेवाग्राहीलाई झन् समस्या पर्ने कांग्रेसीहरू नै बताउँछन् ।
नाम उल्लेख नगर्ने सर्तमा दाङ कांग्रेसका एकजना पुराना नेताले भने, ‘दाङमा कुनै पनि सम्पत्ति छैन । बाँकेमा गएर बसाइ सराइ गर्ने । कांग्रेसका नाममा लाभ लिनुपर्दा दाङमा आएर दाबी गर्ने ? यस्ता ‘शरणार्थी’ नेतालाई पत्तासाफ गर्नुपर्छ । संगठन गर्ने हामी । टिकट लिन नेपालगञ्जबाट आउने ?’
गत महाधिवेशनमा कांग्रेसको दाङ जिल्ला कार्यसमितिको सभापति ताकेका शंकर गिरीलाई ‘शरणार्थी’ नेता भनेर सबैले बिरोध गरेपछि उठ्ने हिम्मत गरेनन् ।
को हुन् गेहेन्द्र गिरी ?
खुमबहादुर खड्काको विश्वासपात्रका रुपमा चिनिने गेहेन्द्र गिरी निर्वाचन सांसद र दाङ कांग्रेसको सभापति भइसकेका नेता हुन् । केही समय राजनीतिमा अलिक निस्क्रिय रहेका गेहेन्द्र अबसर पाउने बेलामा जुर्मुराउने गर्छन् । गेहेन्द्र गिरी कांग्रेसका केन्द्रीय सदस्य एवम् सिचाइ मन्त्री दीपक गिरीका नाताले दाइ पर्छन् । तर, यी दुई दाजुभाइबीच राम्रो सम्बन्ध छैन ।











प्रतिक्रिया