भैरहवा, १६ जेठ । दोस्रो चरणको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नेपाल–भारत सीमा सुरक्षा बैठक भैरहवामा सम्पन्न भएको छ ।
बैठकमा दुई देशीय सुरक्षा अधिकारीले नेपालमा हुने निर्वाचनलाई शान्तिपूर्ण र सुरक्षित गर्नको लागि सीमामा सुरक्षाको राम्रो प्रबन्ध गर्ने प्रतिबद्धतता जनाएका छन् ।
बैठकमा सहभागी रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बिनोदप्रकाश सिंहले दिएको जानाकारी अनुसार– नेपालमा हुने स्थानीय तहको निर्वाचनमा सीमापारीबाट हुने अवाञ्छित सम्भावित सबै किसिमका कृयाकलापमा पूर्ण रोक लगाइने भारतीय पक्षले प्रतिबद्धता जाहेर गरेको छ ।
सिंहले दिएको जानकारी अनुसार निर्वाचनको मौकाछोपेर सीमामा हुने चोरी तस्करी र अन्य अपराधलाई अझै कडाइका साथ निगरानी र नियन्त्रण गरिने पनि दुई देशीय सहमति भएको छ ।
निर्वाचन भन्दा ४८ घण्टा पहिलादेखि नै सीमा नाका बन्द गराउने संयुक्त बैठकले निर्णय गरेको छ ।
सीमा सुरक्षामा आपसी सहयोग, दशगजा क्षेत्रको अतिक्रमण रोक्ने, लागूऔषध न्यूनीकरण, अपराध नियन्त्रणका लागि संयुक्त गस्ती, सुरक्षा संबेदनशीलता विषयमा सूचना आदन प्रदान गर्ने विषयमा छलफल भएको समेत प्रमुख जिल्ला अधिकारी सिंहले जानाकारी दिए ।
बैठकमा नेपालका तर्फबाट रुपन्देही, कपिलबस्तु, नबलपरासीका प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुख र भारतबाट महाराजगञ्ज, बलरामपुर, सिद्धार्थनगरका डिएम, सुरक्षा प्रमुखको सहभागिता रहेको थियो ।












प्रतिक्रिया