मुम्बई । अभिनेता सलमान खानसँग फिल्म ‘ट्युबलाइट’मा अभिनय गरेपछि चिनियाँ नायिका झू झूको चर्चा चिनियाँ मिडियामा राम्रै चलेको छ । कवीर खान निर्देशित फिल्मको प्रमोसनका लागि उनी भारत आउँदैछिन् ।
‘मेरा फिल्ममा अभिनय गरेका अधिकांश नायिकाले महत्वपूर्ण भूमिका पाएका छन् । झू झूले पनि त्यस्तै भूमिका पाएकी छिन् । तर, कस्तो भूमिका भन्ने अहिले नै खुलाउन मिल्दैन’, कवीरले भनेका छन्, ‘फिल्मको प्रमोसनका लागि झू झू भारत आउँदैछिन् । उनको प्रमोसन कार्यक्रमलाई कसरी व्यवस्थित गर्ने भनेर हामी योजना बनाइरहेका छौं ।’
चिनियाँ बजारमा अभिनेता आमिर खानको फिल्म ‘पीके’ र ‘दंगल’ले तहल्का मच्चाएपछि सलमानको फिल्मलाई पनि त्यहाँ अब्बल बनाउन ‘ट्युबलाइट’ टिम सक्रिय रहेको निर्देशक खानले खुलाए ।
सलमानको फिल्मलाई सन् २०१५ को हलिउड फिल्म ‘लिटल ब्वाई’को डुप्लिकेट भनिए पनि ‘बजरंगी भाईजान’ निर्देशक कवीरले फिल्म पूर्ण रूपमा भारतीय संस्कृतिसँग मिल्दोजुल्दो रहेको दाबी गरेका छन् ।
आगामी इदमा रिलिज हुने फिल्ममा सोहेल खान, ओम पुरीको अभिनय छ भने शाहरुख खानको केमियो भूमिका फिल्ममा छ । – एजेन्सी















प्रतिक्रिया