१४ कार्तिक २०८३, शनिबार

दोस्रो चरणमा एमालेले तालमेल नगर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ जेठ । एमालेले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा केन्द्रीय स्तरबाट कुनै पार्टीसँग पनि तालमेल नगर्ने भएको छ । पहिलो चरणको तालमेलले प्रभावकारी परिणाम दिन नसकेको निष्कर्ष निकाल्दै एमालेले यस्तो निर्णय गरेको हो ।

नेपाली कांग्रेससँग मुख्य प्रतिस्पर्धा हुने भन्दै एमालेले आफ्नो संगठन र कार्यक्रमको आधारमा जित्न सकिने निष्कर्ष निकालेको हो । ‘पहिलो चरणमा गठबन्धन प्रभावकारी हुन सकेन । त्यसको विभिन्न कारण होलान्, समीक्षा हुन्छ,’ एमाले नेता प्रदीप ज्ञवालीले भने, ‘दोस्रो चरणमा पनि संगठन र मुद्दाको बलमा लड्ने हो । आमरुपमा एक्लै लड्छौं ।’ नागरिक दैनिकले समाचार छापेको छ ।

उनले स्थानीय आवश्यकताको आधारमा चुनावी गठबन्धन नकार्न नसकिने बताए। पहिलो चरणका चुनावमा लमजुङ र बाग्लुङमा मात्रै गठबन्धन प्रभावकारी देखिएको उनको विश्लेषण छ । लमजुङमा माओवादी र बाग्लुङमा राष्ट्रिय जनमोर्चासँग एमालेको गठबन्धन थियो ।

‘जनताले सैद्धान्तिक अप्राकृतिक गठबन्धनलाई त्यति मन पराएको चुनावमा देखिएको छैन,’ शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा एमाले सचिव योगेश भट्टराईले भने, ‘त्यसैले माओवादीले पनि कोसँग गठबन्धन गर्ने हो भनेर सोच्ने बेला आएको छ ।’

यसअघि एमालेले केन्द्रीय स्तरबाटै काठमाडौं र ललितपुर महानगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीसँग गठबन्धन गरेको थियो ।

एमाले दोस्रो चरणको स्थानीय चुनावमा पहिलो दल बन्ने रणनीतिका साथ चुनावमा उत्रिने भएको छ। प्रदेश नम्बर एक र पाँचमा राम्रो परिणाम आउने अपेक्षा लिएको एमालेले सात नम्बर प्रदेशमा कांग्रेससँग कडा प्रतिस्पर्धा हुने र प्रदेश नम्बर दुई मा त्रिपक्षीय प्रतिस्पर्धाको अपेक्षा लिएको छ ।

‘मधेसवादी दलले गठबन्धन गरे भने मात्रै त्रिपक्षीय प्रतिस्पर्धा हुन्छ,’ सचिव ज्ञवालीले भने, ‘केही स्थानमा छाडेर कांग्रेस र एमालेबीच प्रतिस्पर्धा हुने हो ।’

उनले मधेसवादी दलसँग सम्बन्ध समान्य बनाउने र गठबन्धनका लागि समेत स्थानीय स्तरमै छलफल भइरहेको बताए। पहिलो चरणमा प्रदेश नम्बर तीन, चार र छका २ सय ८३ स्थानीय तहमध्ये १ सय २४ तहको प्रमुख जित्दै एमाले पहिलो दल बनेको छ । दोस्रो रहेको कांग्रेसले १ सय ४ स्थानमा प्रमुख जितेको छ ।

प्रदेश नम्बर एक, दुई, पाँच र सातका ४१ जिल्लामा दोस्रो चरणमा चुनाव हुँदैछ। दोस्रो चरणमा ४ सय ६१ स्थानीय तहका लागि चुनाव हुँदैछ ।

आन्दोलनमा रहेका मधेसवादीले आफ्ना माग पूरा गराउन एमालेलाई सबैभन्दा ठूलो अवरोधकको रुपमा लिने गरेका छन् । एमालेले दक्षिणी सीमासँग जोडिएको क्षेत्रमा सुरक्षाको बारेमा चिन्ता व्यक्त गरेको छ । ‘पहिलेदेखि त्यस क्षेत्रमा मनी (पैसा) र मसल (बल) धेरै प्रयोग हुने थियो। यसपटक पनि जनताको मतको सुरक्षा कसरी हुन्छ भन्ने चिन्ता छ,’ ज्ञवालीले भने, ‘सरकार र निर्वाचन आयोगलाई हामीले यस विषयमा ध्यानाकर्षण गरासकेका छौं ।’

प्रदेश नम्बर ७ को उम्मेदवारीको टुंगो लगाएको एमालेले प्रदेश नम्बर ५ का चार उपमहानगरपालिकासहित स्थानीय तहको उम्मेदवार चयनसमेत गरिसकेको छ। उम्मेदवार छनोटका लागि प्रदेश नम्बर २ कमिटीको बैठक महोत्तरीको बर्दिबासमा जारी छ ।