
काठमाडौँ, १५ जेठ । भरतपुर घटनालाई लिएर नेकपा एमालेले संसद अबरुद्ध गर्ने तयारी गरेको छ ।
भरतपुर महानगरपालिकाको आइतबार मध्यराति मतपत्र च्यातिएपछि आक्रोशित बनेको एमालेले पुनः मतगणना सुरु नभए संसद चल्न नदिने तयारी गरेको छ । यस विषयमा एमालेका शीर्ष नेताहरुबीच छलफल भइरहेको छ । एमाले नेताहरुले निर्वाचन आयोगको निर्णयलाई कुरेर बसेका छन् । काँग्रेसले भरतपुरको १९ नम्बर वडाको पुनः मतदान गर्नुपर्ने माग गरेको छ । माओवादीले पनि सोही माग गर्नका लागि पत्रकार सम्मेलनको तयारी गर्दैछ ।
तर, घटनालाई सुनियोजित लिँदै नेकपा एमालेले कुनै पनि हालतमा पुनः मतदानमा जान नसकिने बताउँदै आएको छ । पुनः मतगणना सुरु नगरिए एमालेले संसद अबरुद्ध गर्नेसम्मको दबाबमुलक कार्यक्रम गर्ने तयारी गरेको छ । एमालेले आज संसद अबरुद्ध गरे सरकारको बजेट घोषणा कार्यक्रम समेत प्रभावित हुनेछ ।
नेकपा एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले दैनिक नेपालसँग भने – ‘संसद अबरुद्ध लगायतका विकल्पमा छलफल भइरहेको छ, तर अहिले टुंगोमा पुगेका छैनौं ।’
यता, नेकपा एमालेका स्थायी समिति सदस्य एवं चितवनका निर्वाचित सांसद सुरेन्द्र पाण्डेले तत्काल मतगणना सुरु गर्न माग गरे । मतगणना सुरु नभए संसदमा कुरा उठाउने उनले बताए । ‘सत्ता पक्षले हामीसँग गरेको सहमति कार्यान्वयन पनि भएको छैन्, प्रधानन्यायाधिशको महाअभियोग फिर्ता लिने भनिएकोमा स्थगनका लागि मात्र पत्र दिइएको छ । सरकारले प्रतिपक्षसँग कस्तो व्यवहार गर्न खोजेको हो ? आज प्रष्ट हुन्छ ।’ – उनले भने ।
भरतपुरमा मतगणना बाहेक अरु विकल्प नरहेको नेता पाण्डेले बताए । उनले दैनिक नेपालसँग भने – ‘सबै मतपत्र त्यहीं छन् । १८ सयको रिजल्ट आइसकेको छ । ६ सयको पनि त्यहाँ रेकर्ड छ । बाँकी ४ सय गन्न बाँकी छ । फेरि किन चुनाव गर्ने ? यो भने हारको मानसिकता हो, अलोकतान्त्रिक तरिका हो । लोकतन्त्रमा विश्वास हुनेले मतपत्र च्यातेरै चुनाव जित्छन् र ?’
नेता पाण्डेले भरतपुरको मतगणनासँग शेरबहादुर देउवाको प्रधानमन्त्रीको कुर्सी मोह जोडिएको बताए । उनले भने -‘शेरबहादुरजीलाई जति बेला पनि प्रधानमन्त्रीको कुर्सीले हिरिक हिरिक भएको छ, त्यसैले उनी प्रचण्डको पछि लाग्नु स्वभाविक हो । हरेकपटक थुक निल्दा पनि प्रधानमन्त्री मात्र भन्ने आउँछ शेरबहादुरलाई ।’
एमाले स्थायी समिति पाण्डेले भरतपुरको जित हारलाई प्रधानमन्त्रीको कुर्सीको प्रतिष्ठासँग नजोड्न आग्रह पनि गरे ।















प्रतिक्रिया