काठमाडौं, १५ जेठ । काठमाडौं जिल्ला अदालतले नेशनल मेडिकल साइन्सको नक्कली माइन्यूट पुस्तिका बनाएर छात्रवृत्ति दिलाउने भन्दै ठगी गरेको कसुरमा २०७३ जेठ ३२ गते नुवाकोटका सरोज केसीलगायतलाई दोषी ठहर गर्दै कैद सजाय र जरिवाना तोक्यो ।
डा.मनोजकुमार साहलाई एमडी अध्ययनका लागि सरकारी कोटामा छात्रवृत्ति मिलाइदिने भन्दै केसीसहित वीर अस्पतालका तत्कालीन कर्मचारी दीपक मुडभरी, राजेश कहार र रवि पौडेललाई अदालतले दोषी ठहर गरेको थियो । नागरिक दैनिकले समाचार छापेको छ ।
अदालतको फैसला अनुसार केसीलाई १४ महिना जेल र ७ लाख रूपैयाँ जरिवाना तोकिएको थियो । मुद्दा चल्दा हिरासतमै रहेका मुडभरी, कहार र पौडेल फैसलाअनुसार कारागार पुगे ।
अदालतले अभियोग प्रमाणित गरे पनि केसी फरार सूचीमा परे । उनी काठमाडौंमा खुलमखुल्ला घुमिरहँदा पनि पक्राउ परेनन् । यही बीच अर्जुननरसिंह केसी सहरी विकास मन्त्री बने । सरोज उनका पिए ।
कानूनी रूपमा फरार अभियुक्त भए पनि उनी मन्त्रीसँगै दैनिक सिंहदरबार र मन्त्री निवास गरिरहन्थे । असोजमा ठगीका फरार अपराधी मन्त्रीको पिए भनेर समाचार आएपछि मन्त्री केसीले उनलाई हटाए । तर, पनि उनी पक्राउबाट जोगिँदै आए । केसी अदालतले दोषी ठहर गरेको एक वर्षपछि सामाखुसीबाट आइतबार पक्राउ परे ।












प्रतिक्रिया