काठमाडौँ, १४ जेठ । सरकारले दोस्रो चरणको चुनाव केही दिन सार्ने तयारी गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार राति बसेको कांग्रेस, एमाले, माओवादी केन्द्र र राजपा नेपालका शीर्ष नेताहरूको बैठकमा एक साता चुनाव मिति सार्ने प्रस्ताव गरिएको हो । राजपा चुनावमा आउने सर्तमा प्रमुख प्रतिपक्ष एमाले पनि सरकारको प्रस्तावमा लचक देखिएको छ। संविधान संशोधन र चुनावको नयाँ मितिका लागि सरकारले सोमबार र मंगलबार थप गृहकार्य गर्ने भएको छ ।
गृहमन्त्री विमलेन्द्र निधिका अनुसार, निर्वाचन आयोग र मौसमविद्हरुसँगको सल्लाह अनुसार सरकारले नयाँ मिति तोक्नेछ । असारको १० गते नक्टने गरी चुनावको नयाँ मिति तोक्ने तयारी रहेको उनले बताए ।
राजपालाई चुनावमा समेटेर लैजानेमा एमाले लचिलो देखिएको भन्दै गृहमन्त्री निधिले राजपालाई निर्वाचन आयोगमा दल दर्ताका लागि केही समय लाग्ने भएकाले चुनावको मिति केही समय सार्ने समझदारी बनेको बताए ।
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पनि राजपा चुनावमा आउने सुनिश्चित हुने गरी चुनाव मिति सार्न लागिएको जानकारी दिए ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले यथास्थितिमा संविधान संशोधनका पक्षमा दुईतिहाई बहुमत पुग्न कठिन रहेको भन्दै स्थानीय तहको दोस्रो निर्वाचनको मिति नजिकै आएकाले निर्वाचनपछि संविधान संशोधन पारित गरेर अघि बढ्ने गरी निर्वाचनमा सहभागी हुन राजपाका नेताहरूलाई आग्रह गरेका थिए ।
राजपा नेपालका नेताहरूले भने आफ्नो मुख्य चासो प्राविधिक विषयमा भन्दा पनि संविधान संशोधनमै रहेकोमा जोड दिँदै संविधान संशोधन विधेयक पारित हुने वातावरण बनाउन प्रमुख तीन दललाई आग्रह गरेका थिए ।
छलफलमा प्रमुख प्रतिपक्षी दल एमालेका नेताहरू दोस्रो चरणको निर्वाचनपछि संविधान संशोधन विधेयकलाई अघि बढाउन सकारात्मक देखिएको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले जानकारी दिए ।
बैठकमा प्रधानमन्त्री दाहालका साथै कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी ओली, राजपा नेपालका अध्यक्ष महन्त ठाकुर लगायतका शीर्ष नेताहरु सहभागी थिए ।















प्रतिक्रिया